• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
विचार

दशैंको मनोवैज्ञानिक महत्व : चाडपर्वले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर शारीरीक तथा मानसिक स्वास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ । कोरोना संक्रमणका कारण यस बर्ष दशैंलाई खुलेर हर्षोल्लासका साथ मनाउने अवस्था भएन ।

 

तर जस्तो सुकै विषम अबस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु हुदैन । यसको संरक्षणमा जोड दिनुपर्छ । यो बर्ष भने कोरोनाको संक्रमणलाई ध्यान दिदै भौतिक दुरी कायर गरेर सुरक्षाका उपायहरु अपनाउँदै जो जो जहाँ जहाँ हुनुहुन्छ त्यहिबाट दशैं मनाउनु नै उतम हुन्छ ।

 

दशैंको सबैभन्दा महत्वपूर्ण पक्ष आशिर्वाद लिने दिने र शुभकामना आदन-प्रदान गर्ने कार्य भएकाले भौतिक रुपमा भेटधाट हुन नसकेपनि बैकल्पिक रुपमा फोन वा सोसियल मिडियाको प्रयोग गर्न सकिन्छ ।


चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठुलो महत्व रहेको हुन्छ । दशैं तिहार जस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात, जाती र धर्म सम्प्रदायसँग मात्र  सिमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ । यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ साथै नेपाली हुनुको गौरब र पहिचान गराउँछ ।


किम्बदन्ती अनुसार पनि बिजयादशमी असत्य माथी सत्यको जीतको उत्सवका रुपमा मनाईन्छ । बिजयको उत्सवले आत्मबल, आत्मविश्वास, जोश जागर, हौसला बढाउने तथा नैरस्यतालाई हटाउने  गर्छ ।


विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ्य भनेको शारीरीक, मानसिक, सामाजिक र आध्यात्मिक चारै तबरबाट स्वस्थ हुनु हो । दशैँजस्ता चाडपर्वहरुले मानिसलाई यी चारै किसिमबाट स्वास्थ्य रहनका लागि मद्दत पुर्याइरहेको हुन्छन ।


दशैं यस्तो मौसममा पर्छ जुनबेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो दशैँ । चाडपर्वमा प्रायः सबैले सधैको भन्दा फरक मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । दशैंमा विशेष रूपमा खाइने दही, चीउरा, घ्यु, फलफूल, मिठाई, माछामासु जस्ता खानेकुराले शरिरमा शक्ति प्रदान गर्छ जसले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पुर्‍याउँछ । दशैंमा पिङ्ग खेल्दा शारीरिक व्यायम हुनुका साथै खाएको गरिष्ठ भोजन पचाउन मद्दत गर्छ । पिङ्ग खेल्दा  मनोरञ्जन पनि भईरहेको हुन्छ ।

 

दशैंको बेला ठुलाले सानालाई टिका लगाएर दिईने आर्शिवाद र एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ। आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास हुन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धनमा मद्दत गर्दछ । कोरोनाले धेरैलाई निराश बनाएको अहिलेको अबस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोचको संञ्चार हुनु अति आवस्यक छ ।


दशैंको रमझमले खुशीयाली र उमङ्ग लिएर आउँछ । अझ केटाकेटीहरू त दशैं कहिले आउँला भनेर दुई चार महिना अगाडिदेखि नै औँला भाँच्न थाल्छन् । दशैंको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउछ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दशैं । विदेशिएका धेरै नेपालीहरू दशैंको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् । तर भलै यो पटक भने धेरै नेपालीहरु दशैंमा पनि घर फर्कन पाएनन् ।


नाती-नातीनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैंले बढ्दै गएको जेनेरेशन ग्यापलाई कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ ।


दशैंको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा पनि सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।


मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापी कै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोबैज्ञानिक पक्षलाई बुझि यसलाई धर्मको रुपमा नहेरी चाडपर्वको रूपमा स्विकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ ।


दशैं नेपालीहरूको मौलिक पर्व पनि हो । नेपालमा मगर, गुरुङ, राई, लिम्बु, थारु, नेवार, क्षेत्री, बाहुन आदि जातिमा जस्तो चामलको टिका र जमरा लगाउने चलन संसारका अन्य कुनै पनि जाती वा हिन्दुहरूमा पाइँदैन। दशैमा चामलको टीका लगाएर अन्नको नाश भयो भन्ने गरेको पनि सुनिन्छ । तर चामलको टिका लगाउनु अन्नको सम्मान गर्नुहो । यसको महत्त्वलाई बुुझ्नु हो ।  यसले नेपाल कृषि प्रधान देश हो भन्ने कुरा पनि झल्किन्छ ।


दशैंमा लगाईने रातो रंग मिश्रित चामलको टिकाले मानिसमा उर्जा, जोश-जागर, उत्साह, साहस बढाउछ । रातो रंग शक्ति, उत्साह, सौभाग्य र बिजयको प्रतिक हो । दशैंमा टिकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुस जसलाई अमृतरस भनिन्छ । जमराको जुस दैनिक सेवनले धेरै किसिमका रोगहरू लाग्नबाट हामीलाई बचाउँछ र दीर्घ जीवन दिन्छ । दशैँमा जमरा लगाउनुको अर्थ जमराको औषधि गुण र महत्वलाई झल्काउने प्रतीकको रूपमा लिनुपर्छ।


दशैंमा टीका लगाएर दक्षिणा दिनु पनि आफैमा नराम्रो होइन । चाडपर्वको बेला किनमेल गर्दा पैसा खर्च हुने, ऋण समेत लाग्न सक्ने हुँदा सक्नेले गच्छे अनुसार टिका लगाएर पैसा दिंदा यसले थोरबहुत ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्दछ ।


यस बर्ष त कोरोनाको कारण अर्थतन्त्र नै  तहस नहस भएको छ । धेरैको आर्थिक अबस्था कमजोर भएको छ । ‘घाँटी हेरी हाड निल्नु’ पर्दछ भन्ने मान्यता अनुरुप आफ्नो गच्छे अनुसार बिना तडक भडक चाडपर्व मनाउनु पर्छ ।

 

‘दशैं आयो, खाउँला पिउँला के खाउँला,चोरी ल्याउँला’ अर्थात जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने सोचले दशैँलाई बोझिलो र तनावपूर्ण बनाउनु हुदैन।  चाडपर्वलाई फजुल खर्च गर्ने बाहनाको रूपमा होइन, आफूलाई उत्साहित गर्ने, आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । साथै चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई हटाउनु पर्छ ।


दशैंको बेला देवीदेवताको नाममा चढाइने बली भने एक किसिमको अन्धविश्वास नै हो । प्राणी हत्या  महापाप हो।  तर पेटको लागि मानिसहरु जस्तोसुकै पाप गर्न र बाहना बनाउन पछि पर्दैनन। मान्छेले आफ्नो पापलाई छल्न देवीदेवतालाई बली चढाएको प्रसाद भन्दै खाने निहुँ र बाहना बाहेक  अरु केही होइन बली प्रथा। यदि सबै प्राणी देवीदेवताको सृष्टि हुन् भने आफैले सृष्टि गरेको आफ्नै सन्तानलाई आफ्नै आमाले भोग कहिल्यै माग्दिनन । बली प्रथाले स्वंय व्यक्तिलाई हिंस्रक, मानसिक रूपमा कमजोर, चिटचिटाहाट, अस्थिर र रिसाहा बनाउने गर्दछ ।


शाकाहारी व्यक्तिहरूलाई दशैँको बेला हुने  मारकाटले अत्यन्तै धेरै तनाव पुर्याउछ  । खसीबोकाको क्रन्दन, रगत र काटमारको दृश्यले उनीहरूलाई दुखी र मानसिक रूपमा अस्थिर बनाउने गर्दछ। वास्तवमा बली चढाउनु भनेको आफ्ना कमिकमजोरी, खराब आचरण,असुरी र दुर्बल पक्षहरू, पासाविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोहजस्ता कुरा छोड्ने संकल्प देवीदेवताका सामु राख्नु हो । आफ्नो गलत कार्यको प्रायश्चित गर्नु हो ।


दशैमा विशेष गरि शक्तिपिठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ । दुर्गा माता अर्थात् महिला वा स्त्रीलाई शक्तिको रूपमा पुजा गर्नु, शक्तिको प्रतीकको रूपमा लिनु हाम्रो जस्तो पुरुष प्रधान समाजका लागि  अर्थ पुर्ण र महत्वपुर्ण रहेकोछ ।

 

(लेखक मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन)


  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार