• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

कोरोना कहर बिचको दशैं जहाँ छौं त्यहि मनाउँ

देवी सापकोटा

वडा दशैंको टिका संघारमा छ । कोरोनाको त्रासले यसपटकको दशैं औपचारिकतामा मात्रै सिमीत हुने पक्का जस्तै छ । बिजयादशमीमा बिगतका बर्ष २० औं लाख नागरिक दशैं मनाउन उपत्यकाबाट बाहिरिने गरेका थिए तर अहिले अवस्था ठिक त्यसको बिपरित भएको छ । धेरै जसो उपत्यका बाहिरका नागरिकले यात्रा गरेका छैनन् । उनीहरु उपत्यकामै टिका लगाउने तयारीमा जुटेका छन । त्यो पनि सिमित परिवारका सदस्यहरुसंग मात्रै । 

 

कोरोनाको तीब्र संक्रमणले जोकोहिमा त्रास बढेको छ । यो क्रम अझै रोकिएको छैन । विश्व स्वास्थ्य संगठनले समेत आगामी महिनामा यो समस्या अझै बढ्न सक्ने आंकलन केहि दिन अघि मात्रै गरेको थियो । उसले अझै अकल्पनीय अवस्था बेहोर्नका लागि मानव जाति तयार हुन समेत सुझाएको छ र सोहि अनुसार उसले चेतावनी दिदै आएको छ । यस्तो अवस्थामा डराउनु भन्दा पनि सचेत रहनु नै बुद्धिमानी हुन्छ । व्यक्तिगत रुपमा सरसफाईलाई ध्यान दिदै भीडबाट टाडै रहन आवश्यक छ । कोरोनाले  भर्खरै जन्मेको शिशु, के जवान, के जेष्ट नागरिक सबै उमेर समुहमा त्रास पैदा गरेको छ । हरेक दिन दर्जन बढि मानिसहरुले कोरोनाका कारण मृत्युवरण गर्नुपरेको छ । अस्पतालहरु खचाखच भरिएका छन । बिरामी राख्ने बेडको समेत अभाव हुन थालिसक्यो । यस्ता जटिलताबारे जानकार हुँदाहुँदै केहि हुँदैनन भनेर साथीभाई भेटघाट, रमाइलो भन्दै भीड जम्मा नगरौं । यदि परिवारका एकजनालाई मात्रै संक्रमण भयो भने सिंगो परिवारलाई असर पुग्न सक्छ, त्यसैले सरकारले भनेको जस्तै जहाँ जस्तो अवस्थामा छौं त्यहि बसेर दशैंलाई औपचारीकतामा नै सिमीत गरौं । चाडपर्व अर्कोवर्ष पनि आउँछन अर्को वर्ष  पनि परिवारका सबै सदस्यसँग बसेर थप उल्लासमय ढंगबाट मनाउन सकिन्छ ।

 

जो जहाँ छौं त्यहि बसेर टिका लगाउन पछिल्लो समय सरकारले अनुरोध गर्दै आईरहेको छ । संक्रमितको संख्या हरेक दिन जसो बढ्दो क्रममा छ । भिडभाड बढ्दा कोरोनाको जोखिम झनै बढ्ने हुन्छ । पछिल्ला केहि महिना हेर्ने हो भने उपत्यकाका दर्जनौ जात्राहरु प्रभावीत भए । प्रशासनले भिड नगर्न अनुरोध गरेसंगै सबैले आ आफ्नो ठाउँबाट संयम्ता अपनाउँदै आएका छन र यो अहिलेको अनिवार्य आवश्यकता पनि हो । जोखिम मोलेर हुलमूलमा जाँदा व्यक्ति स्वयमलाई संक्रमण फैलिन सक्छ र त्यसको असर सिगो परिवारमा पर्ने हुँदा चाडपर्वको मुखमा सकेसम्म यस्तो लापरवाही कोहि कसैले नगरौं ।

 

चिसो बढे सँगै स्वास्थ्यमा जोखिम बढ्ने पक्का भएको जनस्वास्थ्य बिज्ञहरुले पनि सचेत बनाउँदै आईरहेका छन । आम नागरिकले पनि भिडभाड नगर्ने र आफ्नै घरमा मात्रै टिका लगाउने तथा आफन्तका घरमा नजान सचेत गर्दै सामाजिक संजालमा लेख्ने गरेको भेटिन्छ ।

 

अर्कोतर्फ किनमेल भन्दै पटक पटक घरबाहीर निष्कदा पनि संक्रमणको जोखिम हुने हुदाँ दैनिक उपभोग्य बस्तुहरुको खरिद गर्दा सकेसम्म कम घर बाहिर निष्कनेमा सजगता अपनाउनु जरुरी छ । बढ्दो महंगीले आम सर्बसाधरणको ढाड सेकेको छ । यस्तै समयमा बढी मूल्य तिरेर समान खरिद गर्नुपर्दा चाडवाडले महिलामा थप बोझ हुने गर्दछ । चाडबार्डमा सबैले उत्तिकै रमाइलो गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै एकअर्काको काम सघाउने बानी गर्दा कामको बोझ कम हुनुका साथै पारिवारीक माहोल पनि थप रमाइलो बन्न सक्छ यसबारेमा पनि परिवारका सदस्यले ध्यान दिनुपर्छ ।

 

के चार्ड के संक्रमणको जोखिम यस्तो जटिल परिस्थीतिमा कटिबद्ध भएर हरदम खटिएका ती सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य पेसाकर्मी सबैमा नमन । हामी जहाँ छौं त्यहिबाट यो जोखिममा काम गर्ने सबै सबैलाई हौसला प्रदान गरौं । अभावमा रहेकालाई सहयोग गरौं । बिजयादशमीको सबैमा शुभकामना 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार