• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

महामारी नियन्त्रण पश्चात पर्यटनलाई पुर्नजीवन दिन आन्तरिक पर्यटन प्याकेज जरुरी

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा भव्यताका साथ मनाउने निर्णय गरेको थियो । तर तयारी भने निकै कम । बेलायतका सार्वजनिक बसमा भ्रमण वर्ष सम्बन्धि विज्ञापन, भारतमा “चलेँ नेपाल” को नारा, काठमाडौँका सडकमा ठुला ठुला व्यानर र यतिहरु राख्ने वाहेक खासै केहि भएको थिएन । वास्तवमा कोभिड–१९ को महामारीले हाम्रो इज्जत जोगाइदिएकै हो। त्यतिबेला भर्खरै पर्यटन मन्त्री भएका योगेश भट्टराई पनि अन्यौलमा नै हुनुपर्छ। राजधानी लगायत जहाँतहीँ धुले र खाल्डे सडक, यथेष्ट वायुसेवा नभएको समय, भुकम्पले भत्काएका संरचनाहरुको पुनर्निमाण हुनै बाँकी, नयाँ गन्तव्यहरु समेत पहिचान र विकार नभइ सकेको अवस्था । 

 

तर अब हामीले धेरै समय पाएका छौँ खासगरी पुर्वाधार विकासको निम्ति। यो समयलाई भने खेर फाल्नु भएन हामीले । पहिलेका सरह नै हालका पर्यटन मन्त्रीको कार्यशैली राम्रै छ जस्तो लागेको छ । उनको सबैभन्दा राम्रो काम मेरो विचारमा नयाँ विमानस्थल थप्नुभन्दा पनि हाल भएका सुगम र विकट ठाउँहरुका विमानस्थलहरुको स्तरोन्नती गर्ने भन्ने रहेको छ। प्रदेश सरकार, नागरिक उड्डयन र सरकारको सहभागीतामा यस्ता विमानस्थलहरुको स्तरोन्नती सकेसम्म छिटो गर्ने र तराईका विराटनगर जस्ता विमानस्थलहरुलाई पनि अन्तर्राष्ट्रिय विमानस्थलमा स्तारोन्नती गर्ने योजना छ भने भरतपुर विमानस्थलको स्तरोन्नतीका लागि सेनाको व्यारेक र सडक हटाएर भएपनि यसलाई पनि बढाईहाल्ने । यस्ता कामहरुमा स्थानीय र प्रान्तिय सरकारको सहयोग लिनुका साथै स्थानीय नेताहरुको समेत विशेष चाख भएकाले यस्ता आयोजनाहरु विना विलम्ब शुरु गरिहाल्नु जरुरी छ ।

 

सन् २०१५ मा भत्किएका धार्मिक तथा सांस्कृतिक धरोहरहरु पनि प्रायजसो पुनर्निमाण भइसके भने केही अझैसम्म हुँदैछन् र कतिपय त शुरु पनि गरिएका छैनन् । यी सबको निर्माण छिटो भन्दा छिटो सक्नु पर्दछ । नुवाकोटको दरवार त्यति महत्वपुर्ण छ तर त्यसको पुनर्निमाण शुरु नै गरिएको छैन भने गोर्खाको दरवार पनि अधुरो छोडिएको छ। अब राजतन्त्र फर्कन सक्तैन । त्यसैले शाह वंशीय इतिहासका दरवारहरु पनि धक नमानी पुनर्निमाण गरिनु पर्‍यो भने नेपालका अन्तिम राजा ज्ञानेन्द्र र उनका परिवार र मुमा बडामहारानीलाई पनि कमसेकम पर्यटन विकासमा सहभागी बनाउने कोशिश गर्नुपर्‍यो। भन्दा तितो लागे पनि यस्ता प्रगतीशील कार्यले निकै हित गर्न सक्त छ ।

 

यसका साथै नेपाल वायुसेवा निगमको व्यवस्थापनलाई चुस्त बनाएर यसका लागि आवश्यक आन्तरिक र वाह्य सेवामा चाहिने विमानहरुको पनि खरिद छोटो विधिबाट छिटो गरिनु पर्दछ । अहिलेको महामारीले गर्दा कैयन् ठुला वायुसेवाहरुले आफ्ना नयाँ विमानहरु विक्री गर्न खोजेका र विमान उत्पादक कम्पनीमा पनि अर्डर क्यान्सिल भएर धेरै विमानहरु त्यसै पार्क भएर बसिरहेकाले हामीले अलिकति कुटनीतिक पहल बढाउन सकेमा तिनले लिज पर्चेजमा वा लामो अवधिमा किस्ता तिर्ने शर्तमा निकै सस्तोमा विमान उपलव्ध गराउन सक्नेछन् । यसको निम्ति तत्काल एउटा सर्वपक्षिय समिती निर्माण गरेर सो वारेको अध्ययन शुरु गर्नु उत्तम हुन जान्छ । केही राम्रो व्यवस्थापन भएका विमान कम्पनीहरुलाई पनि विमान थप्न आवश्यक सहयोग गर्नु राम्रो ।

 

नेपाल वायुसेवा निगमसँग भएका चिनीयाँ विमानहरु सेनालाई दिएर चार्टर्ड उडानहरु सञ्चालन गर्न सकिन्छ । यसो हुने भएमा चीनले सेनामा चालकहरुलाई तालिम समेत दिने सम्भावना थियो ।

 

त्यस्तै राजधानी लगायत विभिन्न पर्यटकीय महत्व बोकेका ठाउँहरुका सडकहरु कालोपत्रे गर्ने, शुरु गरेका मध्य पहाडी लोकमार्ग तथा हुलाकी राजमार्ग तथा अन्य राजमार्गहरुलाई विशेष पहलका साथ जति हुनसक्छ, सम्पन्न गर्नुपर्ने आवश्यकता छ ।  केही पर्यटकीय स्थलहरु जस्तै कोशी, वागमती, गण्डकी, नारायणी, कर्णाली, महाकारी जस्ता ठुला नदीहरुमा पर्यटकलाई घुमाउने तथा गाउँका विभिन्न वस्तुहरु शहरसम्म ढुवानी गर्ने व्यवस्था तथा शहरी नदीहरु जस्तै काठमाडौँको वागमतीमा ठाउँ ठाउँमा ससाना बाँध बाँधेर पानी जमाउने, नदीको प्रदुषण घटाउने तथा जलविहार गराउने वन्दोवस्ती मिलाउनु पर्ने हुन्छ । त्यस्तै विभिन्न ताल तलैया तथा सिमसार क्षेत्रमा ध्वनी प्रदुषण नहुने गरी आधुनिक हाते डुङ्गा तथा साना साना रिसोर्टहरुको विकास गर्नुपर्ने हुन्छ । राजधानी लगायत मुलुकका विभिन्न धार्मिक र पर्यटकीय महत्वका स्थलहरुका केवलकारको विकास गर्ने योजनाहरु बनाउनु पर्दछ । यी मध्ये कैयन् कुरा सरकारले गर्ने र कैयन् कुरा नीजि क्षेत्रलाई छोड्नु पर्ने हुन्छ । आजको विषम परिस्थितिमा नीजि क्षेत्रले केवलकार र जलविहारका आयोजनाहरु निर्माण गर्न पनि हम्मे पर्ने भएकाले सरकारले जवानी बसेर बैंकहरुसँग ऋण लिइदिने र आयोजना निर्माण सम्पन्न नभएसम्म सोको व्याज सरकारले नै तिरिदिने वन्दोवस्त गर्न सके राम्रो हुने थियो । या त सरकार, नीजि क्षेत्र र जनताको लगानीको मोडलमा पनि यस्ता आयोजना सम्पन्न गर्न सकिन्छ ।

 

हाल नीजि क्षेत्रले होटलमा कुनै पनि हालतमा लगानी गर्दैन । उसले भ्रमण वर्ष २०२० को लागि नै यथेष्ट लगानी गरिसकेको छ । त्यति नै बेला शुरु गरिएका कैयन होटलहरु अझै पनि निर्माण कै चरणमा छन । महामारीको कारण सम्पन्न गर्न नसकेका होटलहरुलाई पनि सरकारले राहतका प्याकेजहरु उपलव्ध गराउनु पर्ने हुन्छ तर रकम ठिक ठाउँमा खर्चेका छन् वा छैनन् भन्ने कुरामा भने विशेष अनुगमन गर्नुपर्ने हुन्छ । तर नयाँ गन्तव्यहरुमा बन्ने गाउँले लगानीको होमस्टेको लागि भने हालको कृषिमा जस्तै अति कम व्याजदरमा लघुवित्त कर्जा उपलव्ध गराउनु पर्दछ ।

 

होटल व्यवस्थापन र पर्यटन तालिमका पनि नेपालमा धेरै निकायहरु भइसके भने प्रशिक्षित पनि अब त धेरै नै छन् । तर होमस्टेको व्यवस्थापन वारेको एउटा चित्रमय तथा सरल म्यानुअलको भने तुरन्त विकास गर्नुपर्ने देखिन्छ र यस्ता सरल म्यानुअल गाउँ गाउँमा, स्थानीय तहमा र लघुवित्त कम्पनि तथा सहकारीहरुको पहुँचमा पु¥याएर भर्चुअल तालिम दिनु पर्दछ ।

 

यो महामारी केही हदसम्म नियन्त्रयणमा आयो भने आन्तरिक पर्यटनका प्याकेजहरु सुरक्षित तवरले शुरु गर्नु पर्दछ । नेपाल पर्यटन वोर्डका नयाँ सिइओ र उनको टिमले पनि यो वारे गृहकार्य शुरु गरिसकेको कुरा हालै पर्यटन वोर्डले विभिन्न पर्यटन व्यवसायीहरुलाई पुनरुत्थान आयोगमा नियुक्त गरेको र त्यसमा सरकार इतर पार्टीका व्यक्तिहरु पनि चयन गरिएकाले केही हौसला बढेको छ । पर्यटन वारे खासै लामो अनुभव नभएपनि हालका सिइओ एक वौद्धिक व्यक्तित्व भएकाले पनि उनले राम्रै काम गर्लान् भन्ने आशा छ ।

 

नेपालमा आउने पर्यटकहरु वनजंगलको जीवनमा रमाउन मात्र आउने नभइ, जंगली जनावर, चरा चुरुङ्गी, फुल तथा अन्य रुखपातका प्रकारको अध्ययन तथा खनिजहरु पाइने स्थलहरुको समेत भ्रमण गर्न रुचाउने भएकाले यस्ता स्थलहरुको समेत विशेष अवलोकन गर्ने व्यवस्था मिलाउनु पर्दछ । नेपालमा यस्ता ठाउँहरु प्रचुर मात्रामा छन् तर बढ्दो शहरीकरण, जग्गा जमिनको दोहन र सरकारी कानुन फितलो हुने भएकोले हामीले यति मिठा कुराहरु लेखेको कुनै मतलब हुन जाँदैन । यस्ता कुरामा स्थानीय जनता नै जागरुक भएर अघि बढ्नु पर्ने भएको छ ।

 

नेपाल भ्रमण वर्षलाई हाम्रा अति विशेष नगदेवालीहरु जस्तै चिया, कफी, अदुवा, अलैची, अल्लो, जडीबुटी, अनाज, मह, स्याउ, तथा अन्य अर्गानिक खाद्य पदार्थहरुको अन्तर्राष्ट्रिय प्रवर्धनको सम्वाहकको रुपमा मनाउन पाए यी वस्तुहरुले विकसित मुलुकहरुमा सिधा पहुँच पाएर हाम्रा लाखौँ किसान र लघु तथा साना उद्यमीहरु लाभान्वित हुने थिए की। पर्यटनका साथ साथै हाम्रा खास कृषि उत्पादनहरुको प्रवद्र्घन विश्वमा एकसाथ हुँदा दिगो बजारको पहिचान भएर मुलुकलाई आर्थिक रुपले निकै फाइदा पुग्ने थियो ।   

 

त्यस्तै ठाउँ ठाउँमा एड्भेन्चर टुरिजमका साना ठुला कृडास्थलको विकास र पुराना रेल, ट्रलीबस, बस, जीप, दमकल, भिम धारा, मोटरसाइकल, हवाइजहाज, आदिका संग्रहालयहरु पनि बनाइनु पर्दछ । यी त साना उदाहरण मात्र हुन् । यस्तै अन्य धेरै कामहरु गर्न सकिन्छन् । पर्यटकको एक एक दिनको बसाई बढाउन सकेमा पनि मुलुकलाई निकै फाइदा पुग्दछ । पर्यटनको सबैभन्दा महत्वपुर्ण सिद्धान्त नै सकेसम्म स्तरिय पर्यटक भित्राउने र उनिहरुको बसाईँ लम्बाउने हो । सुन्दरता, सफाई, सुरक्षा र मिठा खाना उपलव्ध गराउन सकेमा उनीहरु केही धेरै दिन नै बस्ने छन् । किनकी नेपाल अन्य देशहरु भन्दा सस्तो पनि छ र यहाँका मानिसहरुले अतिथि सत्कारमा विश्वमा नै निकै नाम कमाएका छन् ।

 

विगतका कमी, कमजोरीलाई नदोहोरिने गरि सच्याएर योजना बनाउँदै कार्यान्वयन तहमा पु¥याउनु नै उत्तम उपाय हो । राम्रो काम भएमा तारिफ र सल्लाह र खराब काम हुँदा विरोध र सचेतनाका कार्यक्रमहरु राख्नु पर्दछ जनताले । पर्यटन सरकार, पर्यटन व्यवसायी, उत्पादक, सेवा प्रदायकहरु तथा जनता सबैको प्रयत्नले मात्र फस्टाउने भएकाले हामी सबै यसको विकासमा लागौँ । किनकी सुकेको पर्यटनको बजारलाई पुनर्जिवन दिन माथि उल्लेखित र अन्य धेरै कार्यहरु गरिनु पर्दछ ।  

 
 
(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार