• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

राष्ट्रिय धान दिवसको सन्दर्भमा चैतेधान खाद्य सुरक्षाको लागि वरदान

परिचय
नेपालमा पनि संयुक्त राष्ट्रसंघले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय धान वर्ष सन् २००४ (2061)  मनाउने सिलसिलामा कृषि क्षेत्रबाट विभिन्न प्रकारका जनचेतना जगाउने कार्यक्रमहरु संचालन गरिएको थियो । यस स्तम्भकारको बिशेष पहलमा नेपाल सरकारको २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार अब आइन्दा प्रत्येक वर्षको असार १५ गतेलाई  राष्ट्रिय धान दिवस को रुपमा मनाउने घोषणा पनि भएको थियो । सोही अनुसार २०७७ साल असार १५ गते  सोमवार,  सत्रौं ( १७ औं) राष्ट्रिय धान दिवश तथा रोपाई महोत्सव, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तरगत रहेको बाली विज्ञान महाशाखा, खुमलटार, ललितपुरमा धान उत्पादनमा बृध्दि, आत्मनिर्भरता र सम्बृद्धि भन्ने नारा सहित मनाउने निर्णय भएको थियो । कोभिड-१९  रोग सम्बन्धी नेपाल सरकारले निर्देसन गरे अनुसार सतर्कता अपनाई देसभर सत्रौं ( १७ औं) राष्ट्रिय धान दिवश तथा रोपाई महोत्सव मनाइएको थियो । संयुक्त राष्ट्रसंघको घोषणा पश्चात संसारमा प्रत्येक बर्ष निरन्तर रुपमा राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो । 

 

आर्थिक वर्ष २०७६/२०७७ बमोजिम नेपालमा १४ लाख ५९ हजार हेक्टरमा धानखेती भई ५५ लाख ५० हजार  मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ८ सय ०४ किलोग्राम प्रति हेक्टर रहेको थियो । आर्थिक बर्ष २०७६/२०७७ को बिगत १० महिनामा १८ अर्ब रुपैयाँ बरावरको चामल आयात भईसकेको थियो। आर्थिक वर्ष २०७५/२०७६ अनुसार नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार  मेट्रिक टक रेकर्ड उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ७ सय ६० किलोग्राम प्रति हेक्टर थियो । आर्थिक बर्ष २०७५/२०७६ मा रेकर्ड धान उत्पादन भएको बर्षपनि आवश्यकता भन्दा करिब १० लाख टन धानको कमी भएको पाइयो । बिदेशीएका लाखौं युवाहरु नेपाल फर्किएका छन र अब उनीहरुलाई पनि खुवाउन पर्‍यो  । श्रमशक्ति थपिएकाले बाँझो जमिनमा कमी आउन सक्छ । आर्थिक बर्ष २०७५/२०७६ को बिगत १० महिनामा २७ अर्ब ९० करोड रुपैयाँ बरावरको चामल आयात भैसकेको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा विश्व बैंकले ६ दशमलव ३ प्रतिशत आर्थिक बृद्धिदर भएको जनाएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा नेपालको आर्थिक बृद्धिदर ६ दशमलव ३ प्रतिशत  थियो भने आर्थिक वर्ष २०७५/२०७६ मा ६ दशमलव ८१ प्रतिशत  रहेको थियो ।

 

संयुक्त राष्ट्रसंघ अन्तरगत रहेको कृषि तथा खाद्य संगठनको तथ्यांक अनुसार २०७६/२०७७ मा विश्वभर चामल उत्पादन ५ सय ९ मिलियन टन भएको थाहा हुन आएको छ । विश्वभर सबैभन्दा बढी धान उत्पादन गर्ने एघार देशहरुमा क्रमश : चीन, भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल, जापान र पाकिस्तान पर्दछन। 


विश्वका आधा भन्दा बढी जनसंख्याको खाद्यान्नको प्रमुख आधार नै धान रहेको छ। वास्तवमा धानले एसियालीहरुलाई एकैसाथ ल्याउन सेतुको काम गरिरहेको छ किनकी ९० प्रतिशत भन्दा बढी धानको उत्पादनको साथै खपत एसियाली देशहरुमा हुने गर्दछ। कुनै देशमा त धानलाई सुनको दाना पनि भनिन्छ। धानजन्य उत्पादन प्रणाली र यससंग सम्बन्धीत उत्पादनोपरान्त क्रियाकलापहरुले विकासोन्मुख देशहरुको ग्रामिण क्षेत्रहरुका एक (१) अर्व मानिसहरुलाई रोजगारी दिदै आएको छ। फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) ले सन् १९६६ मा विकास गरी सिफारिश गरेको आई—आर ८ धानको जातले विश्वभर चमत्कारनै ल्यायो। बिगतमा मद्रासका एक कृषकले आफ्नो जमिनमा धेरै धान फलेको देखेर जन्मिएको छोराको नामनै आई—आर—८ राखेका थिए। साठी दशकको मध्यमा हरितक्रान्ती नआएको भए हाल विद्यमान चामलको परिमाण (५ सय ९ मिलियन मेट्रिक टन) उत्पादन गर्न संसारको धानखेती गर्ने जमिन नै दोव्बर गर्नु पर्ने हुन्थ्यो जुन कुरा सम्भवनै छैन र वन जंगल पनि हालको भन्दा आधा क्षेत्रफलमा मात्र रहने थियो। संसारभर धानको महत्व झल्काउन, संयुक्त राष्ट्रसंघले सन् १९६६ लाई भोकमरी बिरुध्दको नारासहित बर्षकोबाली, सन् २००४ लाई धाननै जीवन हो भन्ने नारासहित अन्तर्राष्ट्रिय धानबर्ष भनी घोषणा समेत गरेको थियो र यस लेखकको अथक प्रयासपछी नेपाल सरकारले प्रत्येक बर्षको असार १५ गतेलाई राष्ट्रिय धानबाली बर्ष भनी मनाउने गरेको छ। फिलिपिनस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (ईरी), सन् १९६० मा स्थापना भएको थियो र सन् २०१० मा ५० बर्ष पुरागरेकोले धानखेती देसहरुमा स्वर्णजयन्ती मनाइएको थियो र अहिले त ६० बर्ष पुगिसक्यो। नेपालको धानबाली अनुसन्धान र विकासमा ईरीले पुर्याएको सहयोगलाई मध्यनजर राखी हामीलेपनि धानबाली सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरेका थियौं । कृषक प्रिय जातहरुमध्ये पहाडमा चाइनुड— २४२, छोमरोड—ग, माछापुच्छरे ३, चन्दननाथ ३ र तराइमा राधा ४, राधा १२, र सावित्री, र चैतेधानको तराई र भित्री मधेशमा  बिन्देश्वरी, सी.एच. ४५, चैते २, चैते ४, चैते ६, हर्दिनाथ १, चैते ५ (मसिनो) आदी पर्दछन । बीसवर्षे दीर्घकालीन कृषि योजना (एपीपी) ले धानलाई बिशेष प्राथमिकतामा राखेको थियो। अब नेपालमा चैते, भदैया, वर्षे, हिउंदे (बोरोे) गरी वर्षै भरी धानखेती गर्न सकिने प्रविधिको विकास भईसकेको छ । 

 

झापा अथवा मोरङ एउटा जिल्लाको धानको क्षेत्रफल र उत्पादन नेपालको अन्य २२ वटा पहाडी जिल्लाहरुको धानको क्षेत्रफल र उत्पादन भन्दा पनि बढी हुने गर्दछ । त्यसैले झापा अथवा मोरङको धानखेती बिग्रनु र अरु पहाडी एक जिल्लाको धानखेती बिग्रनु भन्नाले आकाश जमिनको फरक देखाउँछ। पचहत्तर जिल्लामध्ये झापा जिल्ला सबैभन्दा बढी धान क्षेत्रको साथै उत्पादन दिने जिल्ला पनि हो। संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने जिल्ला जुम्लाको छुमचौर हो। त्यस्तै गरी नेपालमा सबैभन्दा कमक्षेत्रमा धानखेती हुने जिल्ला डोल्पा हो ।

 

धानले विश्वभर पुर्‍याइरहेको देनलाई मध्यनजर राखी एसिया र संसारभर यस बालीले मूल्य एवं मान्यता पाउनै पर्ने हुन्छ । नब्बे प्रतिशत भन्दा बढी धानको उत्पादन र खपत एसियाली देशहरुमा नै हुने गरेको छ । नेपालमा पनि हामीले धानबालीलाई के कस्तो प्राथमिकता दिएको छौ सो को मूल्यांकन गर्ने मौका पनि यही हो ।

 
 
चैतेधान खेतीगरी उत्पादन सहजै बढाउन सकिने
नेपालमा १४ देखि १५ लाख हेक्टर जमिनमा धानखेति हुने गरेको पाइएको छ । चैतेधान भने करिव १ लाख ५० हजार हेक्टरमा मात्र हुने थाहाहुन आएको छ । धान नेपालको लागि एक प्रमुख खाद्यान्न बाली हो । आर्थिक देनको हिसावले लिने हो भने नेपालमा करिव एक खर्ब ५० अर्ब रुपैयां जतिको धान उत्पादन हुने गर्दछ । धानको उत्पादन राम्रो भयो भने देशको आर्थिक स्थिति माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक स्थिति तल खस्कन्छ । त्यसैले धानबालीको अनुसन्धान र विकास कार्यक्रमलाई देशले प्राथमिकता दिनु अति जरुरी छ । यी तथ्यांक मध्ये चैतेधानको मात्र खेती गरिने क्षेत्र, उत्पादन र उत्पादकत्व अलग्गै उल्लेख भएको पाइदैन । बढदो जनसंख्या र घट्दो खेतीयोग्य जमिनबाट उत्पादन र उत्पादकत्व बढाउन चैतेधानका नयाँ जात र खेती गर्ने तौरतरिकाले ठ्रुलो भूमिका खेल्न सक्दछ । चैतेधानलाई  वसन्ते धान पनि भन्न सकिन्छ । माध–फागुनमा बीउ राखी चैतमा रोपाईं गरिन्छ र ठाउ‘ अनुसार आषाढ–श्रावणतिर धान काटिन्छ । तराई तथा भित्री मधेश लगायत पहाडका वेशी क्षेत्रहरुमा समेत यो धान खेती लगाइन्छ । चैते–२, चैते–४, चैते(५ तथा हर्दिनाथ–१ तराई क्षेत्रमा प्रचलित छन् भने वेशी क्षेत्रतिर सि.एच.४५ पनि लगाइएको पाइन्छ तर हर्दिनाथ–१ ले विस्तारै सि.एच.–४५ जातलाई विस्थापित गर्दैछ । ठाउ‘ तथा जात हेरी ११५–१३० दिनमा यो धान पाक्दछ र सरदर ४.०–५.० टन-हे.सम्म उत्पादन हुन्छ। नेपालमा धानको सरदर उत्पादकत्व ३,८०४ किलोग्राम प्रतिहेक्टर मात्र छ ।  चैते धान काटेपछि त्यही जमिनमा पून : वर्षेधानको रोपाई गरिन्छ। यस खेतीको लागि सिंचाई सुविधा हुनु जरुरी छ । बिगत ५० वर्षलाई समीक्षागर्ने हो भने नेपालमा ११ वटा चैतेधानको जातहरु उन्मोचन भैसकेका छन। सबैभन्दा पछी उन्मोचन भएको जात चैते ५ हो। चैतेधान बीउ छरेपछी ११० दिन देखि १३५ दिनभित्र पाक्दछ । पुराना कृषकप्रिय जातहरुमा सी-एच ४५ र विन्देश्वरी हो भने नयां उन्मोचन भएका मध्ये हर्दिनाथ १, चैते २, चैते ५ र चैते ६ हरु लोकप्रिय छन । धानबालीमा एउटा शुत्र छ जस्तै  धानको फुल फुलेपछि जति धेरै घामको प्रचण्डता (सोलर रेडिएसन) भयो उती धेरै धान फल्दछ । यस स्तम्भकारले जनकपुरमा काम गर्दा चैतेधान फुल फुलेपछि ६०० क्यालोरी प्रति वर्ग सेन्टिमिटर प्रतिदिन मापन पाएका थिए भने वर्षेधान फुल फुलेपछि ५०० क्यालोरी प्रति वर्ग सेन्टिमिटर प्रतिदिन मात्र पाएका थिए । यीनै वैज्ञानिक तथ्यले गर्दा वर्षे धानबालीको तुलनामा चैतेधानको प्रति हेक्टर प्रतिदिनको उत्पादकत्व २० देखि २५ प्रतिशत बढी हुने गरेको पाइएको छ । 

 

 

 

नेपालमा प्रत्येक वर्ष सिंचित क्षेत्र बढदै गएको अवस्थामा चैतेधान खेती गर्न सकिने क्षेत्र बढाउंदै जाने हो भने धानको उत्पादन सहजै बढाउन सकिने भएकोले चैतेधान खाद्य सुुरक्षाको लागि वरदान भन्नपनि सकिन्छ । किनकी अब जमिन बढाएर खेती गर्ने गुन्जायसनै छैन । चैते धानमा मौसम राम्रो हुनुको साथै रोग, कीरा कम लाग्ने, रासायनिक मलको सदुपयोग बढी हुने गर्दछ । चैतेधानको एउटा समस्या भनेको असारमा गएर पाक्ने हुनाले धानबाली काटी समेट्न अति गाह्रो हुने गर्दछ । अरु देशहरुमा काटेको धान सुकाउन ड्राएर मेशिनको प्रयोग गरेको पाइन्छ भने नेपालमा यस प्रकारले धान सुकाएको बिरलै पाइन्छ । धानको नर्सरी ब्याडमा प्लाष्टिक प्रयोग गरे बेर्ना चांडै हुर्काउन सकिन्छ र पछि काटने बेलामा समस्या कम हुनजान्छ। धानब्याडमा बीउ छर्नु एक महिना जति अगाडि ब्याडलाई प्लाष्टिकले छोपिदिए (स्वायल सोलराइजेसन) रोगका जीवाणुहरु नष्ट गर्न सकिन्छ र मरुवा (ब्लाष्ट) जस्ता बीउजन्य रोगमा कमी ल्याउन सकिन्छ । हर्दिनाथ १ जात त चाँडै यानी ११० दिन भित्रै पाक्दछ र अन्य तरकारीबालीहरु लगाउन पनि सहज हुनजान्छ । कम्पोष्टमल प्रशस्त हाली एक महिना अगाडिनै ब्याड बनाउनु पर्दछ । भनिन्छ 'हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात ।' रोपाई गरिने मुख्य खेतमा पनि रासायनिकमलको साथै प्रशस्त कम्पोष्टमल वा ढैंचा जस्तो हरियो मल प्रयोग गरे माटोको स्वास्थ्य कायम हुनुको साथै दीगोरुपमा धानको उत्पादन पनि बढाउन सकिन्छ । किनकी सिंचित धानबालीमा टपड्रेस गरेको युरियाबाट ६० देखि ७० प्रतिशत नाइट्रोजन चुहिएर, बगेर, उडेर जाने गर्दछ । यसैले एकिकृत पोषकतत्व व्यवस्थापनको लागि जोड दिनुपर्दछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार