• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020
अन्तर्वार्ता

भगवानले भनेका छन् ‘त आँट म पुर्‍याउँछु’ मैले त्यहि गरेको हो

काठमाडौं । कोरोना कहरले बिश्व आक्रान्त छ । संक्रमितको संख्या घट्ने भन्दा पनि हरेक दिन बढ्दो क्रममा छ । कोरोना संक्रमणको त्रास एकतर्फ छ भने अर्कोतर्फ भोको पेटको सवाल छ । संक्रमण फैलिएसंगै नियमित गर्दै आएको मजदुरी रोकिँदा जेनतेन गुजारा चलाइरहेको वर्ग थप समस्यामा परेको छ । केहि समय अघि देशका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोहि पनि भोकले मर्नु पर्दैन’ भने कोरोना कहरकै बिचमा केहि मजदुरले खान नपाएर सडकमै मृत्युवरण गरे ।

 

चुनावको समयमा युवा दस्ता भन्दै सड्कमा लामबद्ध हुने ती कार्यकर्ता अहिले कहाँ छन, त्यो नेताहरुलाई नै थाहा होला । कोरोना कहरकै बिचमा अहिले दर्जनौं संघसस्थाका युवाहरु मजदुरको भोक मेट्न खटिएका छन । बटुवाका सारथि मध्यका यी युवा जो अहिले अलपत्र मजदुरहरुका लागि खाद्यन जुटाउन खटिएका छन। हजारौंलाई खाना खुवाईसकेका उनले अवस्था सहज नभएसम्म आफूहरुको यो अभियान नरोकिने जनाए । यसै बिषयमा सहायक राष्ट्रिय प्रशिक्षक नेपाल स्काउट तथा कृती फाउण्डेसनका अध्यक्ष गुणराज प्याकुरेलसँग फ्रेसन्युज नेपालले फूड बैंक अभियानका बारेमा गरेको कुराकानीको सार : 

 

कहिलेबाट सामाजिक काममा लाग्नुभएको हो र किन ? 
त्यतिबेला म १२ वर्षको थिए । कक्षा ६ मा बिजय स्मारक स्कुलमा पढ्दा स्काउटमार्फत सामाजिक काममा लागेको हुँ । त्यसपछि बाल्यकालबाट नै क्लब, युवा समुह आदीमा सम्मिलित हुँदै अहिले यहाँसम्म आइपुगेको छु । सृष्टिको सबैभन्दा चेत भएको बिशिष्ट प्राणी मानिस नै हो । मानव भएर जन्मिएपछि यस समाजमा आफनो कर्तव्य जे छ त्यो पुरा गर्न पाउनु नै हाम्रो लागि ठुलो कुरा हो ।

 

फुड बैंकको सोच कसरी आयो ? 
यो प्राकृतिक प्रकोप व्यवस्थापनमा म सन् २००९ बाट आवद्ध छु । ब्रम्हपुत्र नदीको प्रकोप देखि टेक्सासको समुन्द्री बिनासलाई नजिकबाट देखेर अनुभव गरे । मानिस घर भएन भने आकाशलाई छाना बनाएर बस्न सक्छ । खाना र पानी बिना मानिस धेरै समय जीवन चलाउन सक्दैन । म २०१२÷१३ मा फिलिपिन्समा आएको समुन्द्री बाढिको व्यवस्थापनमा गएको थिए ।

 

त्यहाँ मैले धेरै नयाँ कुराहरुको अनुभव बटुल्ने मौका पाए। मानिसहरुले आफनो घर, रेस्टुरेन्टहरुको अगाडी प्याक गरेर अपरिचितहरुको लागि खाना राखेको मैले देखे। अझ त्यहाँका रेस्टुरेन्टहरुले त खाना फ्रिजमा राख्ने गर्थे। यसले जसलाई भोक लाग्छ त्यहाँबाट लान सक्थ्यो र जसलाई बढि हुन्छ त्यहाँ ल्याएर दिन सक्थ्यो । यही कार्य म आफनो देश नेपालमा पनि गर्न चाहन्थे । यो कुरा मैले मेरो मित्र सुवाश लामिछानेलाई पनि सेयर गरेको थिए । हामी यो कार्यको लगभग नजिक नजिक नै पुगेका थियौं । तर कोरोनाको कारण लकडाउन भयो र हाम्रो कार्य रोकियो । तर पछि पुर्वमा फुड बैंक स्थापना भएको खबर सुने र मलाई धेरै खुशी लाग्यो । आफनो सपना कसैले पुरा गर्दैछ । लकडाउनको ५१ दिनसम्म बिरयानी बनाएर करिब १८००० जतिलाई खुवाईयो । अहिले निषेधाज्ञा छ र हामी फुड बैंक चलाउँदै छौं । हामी दिनमा २५ परिवारलाई चामल, दाल, नुन र सोयाबिन  बाडछौं । यसमा जसलाई साच्चै नै आवश्यकता छ, आएर लानुहुन्छ । यस्तो काम गर्न पाउँदा मनै हल्का हुन्छ र खुशी लाग्छ । 

 

कसरी जुट्छ सामाग्री ? सहयोग कसरी जुट्छ ?
यसमा शुरुमा आफना नजिकका साथीभाईहरुबाट नै सहयोग भयो । यसपछि मैले फेसबुक गु्रप पनि बनाए । धेरै साथीहरुलाई म्यासेन्जरमा सन्देश पनि पठाए । धेरैलाई सम्झाए बुझाए । यसपछि सहयोग आउन थाल्यो । साथीभाईले फोन, म्यासेज गरेर सहयोगका कुराहरु लेख्छन् । यसमा सहयोग कसरी जुट्ला भन्ने कुराको मलाई कहिले चिन्ता भएन किनकी बिनाशकारी भुकम्प, श्रीलंकाको बिस्फोटन, बंगलादेशको पहिरो, चेन्नईको समुन्द्री बिनाशमा पनि साथीभाईहरुको सहयोग कै कराण सेवा गर्न पाएको थिए । चैत्र ११ बाट शुरु भएको लकडाउनमा चैत्र १६ देखि असारसम्म सेवा गर्ने मौका पाए । ५१ दिनसम्म बिरयानी खुवाइयो । काम शुरु भएपछि सहयोगी हातहरु जुट्छन् भन्ने कुरामा म बिश्वस्त छु। जबसम्म निशेषाधा रोकिदैन र गृह प्रशासानले हामीले गरेको काम रोक्नु भन्दैन तबसम्म यो कार्य चलिरहन्छ । 

 

तपाई यो काम किन र के को लागि गरिरहनुभएको छ ?
अब काम केका लागि गर्ने भन्दा पनि कसको लागि गर्ने भन्ने कुरा महत्पुर्ण हुन्छ । यस्तो कार्य पक्कै पनि समाजका लागि गरिन्छ र त्यस कार्यबाट आत्मसन्तुष्टि मिल्छ । जब तपाईले सेवा गरेको व्यक्तिले हाँसेर धन्यवाद भन्छ त्यो मुस्कान र त्यो क्षण एकदमै महत्वपुर्ण हुन्छ । म आत्मसन्तुष्टिको लागि यो सबै कामहरु गर्छु । 

 

यो कामको लागि कति समय खटिनुपर्छ ? 
लकडाउनको समयमा १५ घण्टासम्म पनि खटियौं । यो कामको लागि यती नै समय दिनुपर्छ भन्ने पनि हुँदैन । यसम बितरणको लागि बढिमा दुईघण्टा लाग्छ । यो काममा कुन समय कसले कहाँ सामान लिन बोलाउँछन् थाहा हुँदैन । यस्तै ५ देखि ६ घण्टा मैले दिईरहेको हुन्छु ।  

 

खानेकुरा (रासन) जुट्ला नजुटला, आज जुट्यो भोली के गर्ने भन्ने हुन्छ कि हुँदैन ?
यसमा काम शुरु नहुँदा शंका उप-शंका हुन्थ्यो । भगवानले भनेका छन् ‘त आँट म पुर्‍याउँछु’ मैले त्यहि गरेको हो । मलाई अहिलेसम्म यस्तो भएको छैन । खुल्ला रुपमा माग्छु धेरैले सहयोग गरिरहेका छन् । 


यो अभियानसँग जोडिएको सुखदुखको अविस्मरणीय कुनै क्षण छ ?
यो अभियान भन्दा पनि म संग २०१५ को बिनाशकारी भुकम्पको अनुभव छ । बच्चाहरुलाई पढ्नका लागि त्यसबेला १५ जिल्लामा १८ वटा अस्थाई टहराहरु बनाइयो । रोशी पारी एउटा गाउँमा टहरा बनाउन हामी २० जना जतिको टोली त्यहाँ गयौं । हामी एक रात दुई दिनमा पाँच कोठाको टहरा बनाउन सिपालु भईसकेका थियौं । त्यहाँ जान एकदमै कठिन थियो । एकमनले त बेकारमा आएछु जस्तो पनि लाग्यो । त्यहाँ काम सकेर हामी गाउँलेहरुसँग बिदा लिन थाल्यौं । हामीलाई त्यो गाउँ अब कहिले जान नपरोस् जस्तो भएको थियो।


यो कोरोना कहरमा दाताहरुलाई कसरी सम्झिनुहुन्छ ?
चैत्र १० गतेसम्म सामान्य रहेको हामीलाई ११ गतेबाट शुरु भएको लकडाउनले के गर्ने र कसो गर्ने भनेर रनभुल्लामा पार्‍यो । कोरोना कहरमा हामी साथीभाई दिनरात नभनी खटियौं। नेपालमा कोरोनाबाट मृत्यु भएको महिलाको लाश जलाउने बेला र जलाईसकेपछि इलेक्ट्रिक शवदाह गृहमा स्यानेटाइज गर्‍यौं । ५१ दिनसम्म दैनिक गुजारा चलाउन गाह्रो भएका व्यक्तिहरुलाई खाना खुवायौं, माक्स वितरण गर्‍यौं, जनचेतना बढाउन माइकिङ गर्दै हिड्यौं । यो सबै काममा हाम्रा मित्रहरु, साथीभाई, संघसंस्थाले जुन रुपमा सहयोग गर्नुभयो त्यसको लागि धन्यवाद भन्न म सँग शब्द छैन । सबैलाई मनैबाट धन्यवाद दिन चाहन्छु । देशलाई आवश्यकता भएको बेला आ-आफनो स्थानबाट सबैजना लाग्नुपर्छ । उहाँहरु कृष्ण हो हामी अर्जुन । 

 

प्रशासनबाट कुनै सहयोग अथवा अवरोध केही भएको छ ? 
हाम्रो प्रशासन पनि अहिले सामान्य रुपमा यो बेला यस्तो गर्ने र नर्गर्ने भन्ने कुरामा अन्यौलमा नै छ । ५१ दिनसम्म चलेको बिरयानी कार्यक्रम स्थानीय प्रशासनको अनुरोधमा हामीले स्थगित गर्‍यौं । यहाँ टोलटोलमा नेता र घरघरमा कार्यकर्ता भएकोले पनि सबै बिग्रिएको हो । हामीले प्रष्ट रुपमा उहाँहरुलाई आफनो भनाई पनि राख्यौं । तर यहाँ व्यक्तिको गुट उपगुट हेरेर प्रशासन चल्छ जसको अन्त्य हुनु धेरै जरुरी छ । 

 

आगामी दिनमा यो अभियान कसरी अगाडि बढ्छ ? 
हामीले यो अभिनया अहिले नपकाएका अन्न दिएर गरिरहेका छौं । अब बिदेशीको जस्तो फुड बैंक नै बनाएर अझ व्यवस्थित बनाएर लाने सपना देखिरहेका छौं र हाम्रो यो सपना अवश्य नै पुरा हुन्छ । 

 

अन्तमा केही भन्नुहुन्छ कि ? 
संकट र प्रकोप त्यसै आउँदैन । यो कि मानिसलाई सक्काउन आउँछ कि सच्याउन । यस्तो बेला बिभाजित भएर भन्दा पनि संगठित भएर समाधान खोज्नु राम्रो हुन्छ । यस्तो प्रकोपमा सहयोग र उद्धार गर्ने भाग्य पनि सबैले पाउँदैनन् । त्यसैले हामी जस्तो शारिरिक, मानसिक उमेर र समय भएका व्यक्तिले आफुभन्दा माथी उठेर कार्य गर्नुपर्छ । म मेरो सम्पुर्ण स्वंयसेवक साथीहरु सहयोगी दाताहरु र मलाई यस काममा सुझाव दिने अग्रजहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । भगवानसँग सधै म मा सेवाको भावना राखिदिन आर्शिवाद माग्दछु। 

 

प्रस्तुति : सुकृत नेपाल
  
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार