• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020
अन्तर्वार्ता

'कांग्रेसमा आशा जगाउनसक्ने ब्यक्तिलाई हामीले सभापति बनाउनुपर्छ'

गगन थापाको चर्चा थियो नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्ने । तर, महामन्त्रीमा अडिनुभयो । यसको कुनै कारण छ कि ?
पार्टीका बहुसंख्यक मानिसले महामन्त्रीलाई दोस्रो सभापति मान्ने रहेछन् । पार्टी सदस्यहरूको पंक्ति त्योभन्दा अरू कुरा सोच्नु स्वाभाविक नमान्ने । घुम्दा, भेट्दा सबैतिर गगनले यसपालि महामन्त्रीको जिम्मेवारी लेओस् भनेको पाएँ । कोसँग मिलेर महामन्त्री पदमा निर्वाचन लडने ? यो प्रश्नको जवाफ हो, काम गर्दा पनि सजिलो हुने ब्यक्तिसंग मिल्नु पर्दछ । अघिल्लोपटक म महामन्त्री मात्रमा लडिनँ । महामन्त्रीमा मात्र लडेको भए मेरो आफ्नो व्यक्तिगत कुरा हुन्थ्यो । त्यतिखेर मैंले कृष्ण सिटौलासित मिलेर उम्मेदवारी दिएको थिएँ । पार्टीको नेतृत्व सधैंभरि एउटै हातमा हुनुहुँदैन, त्यो बदलिइ राख्नुपर्छ भन्ने बिचार थियो मेरो ।

 

संसद्मा गइसकेपछिको तपाईको अनुभव कस्तो छ ? नेपाली कांग्रेस कति लिबरल र कति कन्जरभेटिभ देखिन्छ ?
यसलाई ठ्याक्कै यसरी ब्लकमा हाल्न त गार्‍हो हुन्छ । बिषयका हिसावले र कहिलेकाहीँ ब्यक्तिले पनि फरक पार्दो रहेछ । अनुदारवाद र उदारवाद, यी शब्द हाम्रो संविधानसँग जोडिन्छन । संविधानमा एकदम ठूलो अलमल छ । नेपाली कांग्रेसको घोषणापत्रमा, भाषणमा, पब्लिक ओपनियनमा यसबारे दुइटा दाबी छन् । एउटा ४६ सालअघिको दाबी छ । पञ्चायतसँग लडेको भनेपछि सबै कुरा भइहाल्यो । त्यसपछि, माओवादीसँगको द्वन्द्वबाट देशलाई बाहिर निकालेको दावी अथवा गौरव छ । २०६० सालपछिको ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेको दावी छ । संविधान मेरो नेतृत्वमा बनेको, म नभएको भए बन्दै बन्दैनथ्यो भन्ने दावी पनि छ । तर, संविधान बनाउनु भनेको त आफ्नो घोषणापत्र बनाए जस्तो होइन ।

 

मैंले नेपाललाई यसरी समातेर ल्याएँ भन्ने जुन कुरा गिरिजाप्रसादका स्टेटमेन्टसहरूमा आउँथ्यो उहाँको अवसानपछि कांग्रेसभित्र यो जबर्जस्ती आएको लादिएको भनियो । यसलाई ओन नै गरेन । यसले गर्दा पार्टीका एक्सनहरूमा, पोजिसनहरूमा ठूलो अलमल रहेको मेरो बुझाइ छ । २-४ जना कांग्रेसीहरूका बीचमा बस्यौं भने हामीहरूले ठूलो गल्ती गरेछौ जस्तो भान हुन्छ । यसबारे खुला छलफल पनि गरिदैन ।

 

राणाहरूले ब्रिटिस इन्डियालाई रिझाएर,उनीहरूको हितैषीजस्तो बनेर काम गरेका थिए । त्यो कालखण्डमा अरू कोही भएको भए पनि के गर्थे त नेपालको सार्वभौमसत्ता जोगाउनलाई ? त्यस्तै हाम्रो सन्दर्भमा पनि हामीले के गर्नुपर्‍थ्यो ? माओवादीसँग द्वन्द्व भइरहेको बेलामा माओवादीलाई मेनस्ट्रिममा नल्याएर के गर्नुपथ्र्यो त ? त्यसमा पनि भन्ने ठाउँ भेट्दैन, छलफलै गर्दैन । मैंले यो ठूलो अलमल रहेको पाएकोछु । जसले गर्दा कन्जरभेटिभ र लिबरल भनेर यसको पोजिसन छुट्याउन मलाई गार्‍हो पर्छ ।

 

अन्तर्राष्ट्रिय सम्बन्धमा पनि कांग्रेसका स्थायी मित्र भएनन् । नेपाली कांग्रेस भनेको, कसैले माने पनि नमाने पनि, हीन भावनाले लिए पनि अथवा वीरतापूर्वक लिए पनि, भारत यसको साथी हो । यो भारतमा नै जन्म्यो, त्यहीँको डेमोक्रेटिक कल्चर लिएर आयो । अहिले आएर नेपालभित्रका वामपन्थीहरूसँग जुध्ने क्रममा भारतसँग टाढाटाढा हुन थाल्यो । बीपी कोइराला आफू जति लखेटिँदा पनि सम्बन्ध मिलाउँदै आउनुभएको थियो । कांग्रेसले त्यो नीतिलाई निरन्तरता दिन नसकेको जस्तो मलाई लाग्यो । कांग्रेस इन्डियन नेसनल कांग्रेस जस्तो पनि हुँदैन । अवस्था यही रहने हो भने घिटीघिटी यसरी नै चल्ने हो । गगनले पक्कैपनि विश्लेषण गरेको हुनुपर्छ ।

 

सोलुखुम्बुमा जन्मेको गगन, काठमाडौंबाट चुनाव जितेको छ। हामीकहाँ दुइ प्रकारको समाज छ । ‘गगन दाई, गगन दाई’ भन्ने एउटा काठमाडौंको, नेपालगन्जको, विराटनगरको, जनकपुरको, वीरगन्जको शहरी समाज अर्को गगन दाईले धारा ल्याइदिन्छ, चर्पी बनाइदिन्छ, बाटो बनाइदिन्छ, गगनदाई हाम्रो गाउँमा जन्मेको हो भन्ने समाज । अनि गगनलाई नचिन्ने पनि एउटा समाज छ सीमान्तकृत । भोलि नेपाली कांग्रेस शासनको इक्वेसनमा आउँदा यो असमानतालाई कसरी मिलाउने रु अहिलेको प्रमुख समस्या एकातिर भ्रष्टाचार धेरै बढेको छ, सांसदहरू नै भ्रष्टाचारमा लिप्त रहेको सुनिन्छ । इमान जमान भएका अलिअलि मात्रै छन् । गाउँ र शहरको मेल नगराईकन तपाईंहरु आफनो कर्तब्य कसरी पूरा गर्नुहुन्छ ?

छैन । अघिल्लो पार्लियामेन्टमा यस्ता बिषयमा गठन भएका फन्डामेन्टल कमिटीहरूको हामीहरूले बेस्ट युज गरेका हौं । सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा हामी सबैको ध्यान संविधान निर्माणमा भएकाले प्रतिपक्षी राजनीति पनि थिएन । विकासका इस्युहरू, जनजीविका इस्युहरूमा त्यो बेलामा असाध्यै धेरै काम भएका थियो । अहिले गएको दुई अढाइ वर्ष त पोलिटिकल कुराकै वरिपरि नै घुमियो । त्यो पनि मोर रियाक्टिभ भएर । सरकारले केही गर्छ, त्यसमा प्रश्न उठाउनुपर्‍यो, त्यसमा रियाक्ट गर्नुपर्‍यो, अहिले भएको यही हो।

 

संसदीय लोकतन्त्रको सफलता र विफलता नेपाली कांग्रेससँग जोडिएको छ । पार्लियामेन्ट्री डेमोक्रेसीलाई नेपालमा प्रयोग गर्ने नेपाली कांग्रेस हो । अहिलेको नेपाली कांग्रेसको नेतृत्व पार्लियामेन्ट्री डेमोक्रेसीको बाटोमा हिंडेको देखिंदैन । यसमा उनीहरुको समझ हराएकै हो त ?
नेपाली कांग्रेस पार्टीभित्र एक जनाले पनि पार्लियामेन्ट्री डेमोक्रेसीको कुरा गर्दैन । नेपाली कांग्रेसभित्र यो अर्को अलमल छ । कांग्रेसभित्र, बीचमा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा पनि चल्यो । हामीले नै चलायौं । त्यतिखेर कांग्रेसका नेताहरू अरू सबै कुरामा तयार देखिए । तर, संसदीय व्यवस्थामा अलिकति पनि तलमाथि गर्ने कुरामा सहमत भएनन । नेपाली कांग्रेसमा लोकतन्त्र भनेकै संसदीय व्यवस्था भन्ने मान्यता बनेकोछ । तर हाम्रो पार्टी सञ्चालन र पार्लियामेन्ट्री डेमोक्रेसीमा कहीँ कतै कुनै संगति नै छैन ।

 

हाम्रो पार्टीको लिडरशीपमा जो मान्छे आउँछ, उसले चुनाव जित्यो भने प्रधानमन्त्री हुन्छ, चुनाव हार्‍यो भने त्यसले पद छाडनु पर्छ । चुनावमा पार्टीको हारपछि पनि हारेको नेताले पार्टीको नेतृत्वलिने नैतिक आधार के हो रु मेरो कार्यक्रमको आधारमा मैले संगठन परिचालन गरेर पार्टीलाई देशको सत्तामा पुर्‍याउँछु, त्यसको आधारमा मेरो कार्यक्रम इम्प्लिमेन्ट गर्छु भन्ने कहीं छैन । यसको कहीँ पनि सम्बन्ध छैन त्यो चाहे वडास्तरमा होस् वा केन्द्रीय स्तरमा । वडामा पार्टीको एकाइ अध्यक्ष हुन्छ । उ वडामा हार्छ । तर ऊ कहीँ जवाफदेही हुनु पर्दैन ।

 

म तेस्रोपटक सांसद भएँ । मैंले आजसम्म प्रभावकारी सांसद हुनका लागि आवश्यक ओरियन्टेसन, पार्टीभित्रको ट्रेनिङ केही पाएको छैन । हामीले काम गरेको कसैले हेरेन । मैंले आफूभन्दा अगाडिको सांसद जस्तो हुन्छु भनेर सिक्नका लागि त्यसको अभ्यास पनि केही गरेको छैन । हाम्रो प्राथमिकतामा त्यो कुरा छैन । कुनै पार्टीमा पोजिसन लिएर त्यसको आधारमा सांसद चुनिने स्थिति छ । त्यो त हाम्रो होइन नि । त्यो कम्युनिस्ट पार्टी हो वास्तवमा । हाम्रो त त्यस्तो नहुनुपर्ने हो ।

 

पछिल्लो समयमा कस्तो हुन थालिसक्यो भने पार्लियामेन्टभित्रका बिधेयकका विषयमा पार्लियामेन्टमा छलफल हुनुभन्दा पहिले पार्टीले बोलिदिन्छ र पोजिसन बनाइदिन्छ । किनभने धेरैजसो सिनियर लिडर्सहरू सबैले हारेका छन् । यो त संसदलाई नटेरेको हो नि ।

 

अर्को कुरा, शेरबहादुर देउवालाई संसदीय दलको नेताको रूपमा कसैले चिन्दैन, उहाँलाई नेपाली कांग्रेसको सभापतिको रूपमा मात्रै चिन्छन् । उहाँले पावर एक्सरसाइज गरेको पनि पार्लियामेन्ट्री पार्टीको नेता भएर होइन । उहाँ केपी ओलीसँग भेट्न गएको पनि संसदीय दलको नेताको रूपमा होइन । कांग्रेसको सभापतिको रूपमा हो । कांग्रेसको संसदीय दलको नेता कमजोर छ । वास्तवमा कांग्रेसले संसदीय व्यवस्थाभित्रका प्रत्येक सांसदलाई प्रभावकारी तुल्याएर जनतालाई यो व्यवस्थाप्रति विश्वास दिलाउनुपर्ने हो । सारा विकास निर्माण लगायतका कुराहरू कांग्रेसका सांसदमार्फत जानुपर्ने हो, त्यो पटक्कै छैन ।

 

अहिले कांग्रेसका ७(८ जना सिनियर नेता जो हुनुहुन्छ, उहाँहरूलाई सबभन्दा बढी समयको बर्बादी लाग्ने भनेकै संसद्मा आउँदा हो । उहाँहरू पार्लियामेन्टका बैठकहरूमा सहभागी हुनुहुन्न । उहाँहरूलाई संसद्मा बोल्ने कुरा थाहा नभएर होइन, यहाँ बोलेर के हुन्छ रु भन्ने लागेर हो । पार्लियामेन्टमा कहिल्यै बोल्नुहुन्न । तर कुनै गाउँमा दुई जना मान्छे कांग्रेस प्रवेश गरे भने त्यो कार्यक्रममा दौडेर जानुहुन्छ । पार्टीमा दुइजना सदस्य बनाउने कुरा त्यति महत्वपूर्ण छ तर पार्लियामेन्टको मिटिङमा आउन उहाँहरु भ्याउनुहुन्न ।

 

कांग्रेसभित्रको यो प्रवृत्तिलाई सुधार गर्न के गर्न सकिन्छ रु १५ सालको संसद्मा त धेरै वादविवाद हुन्थ्यो भन्छन त्यस समयका अनुभवीहरु । श्रीभद्र शर्मा, विश्वबन्धु थापा, परशुनारायण चौधरी, सरोजप्रसाद कोइराला र अरू पनि थुप्रै ब्यक्तित्व थिए संसदमा । पार्टी एउटा आकारमा आएको थियो । अहिले सिकाउने मान्छे कोही पनि भएन। राजनीतिक संस्कार र संस्कृतिकै अभाव भएको हो त ?
जस्तो म भन्दा युवा जसले नेपाली कांग्रेसभित्र बाटो बनाउँदै गर्दा उसलाई सघाउने को हो त यहाँ । गिरिजाबाबु, शेरबहादुरजी, उहाँहरू सबैको चरित्र एउटै हो । पार्टीभित्र प्ले गर्ने, नम्बर्समा प्ले गर्ने । लोकले के भन्छ भन्ने कुरामा सरोकार छैन । संख्याले म्याटर गर्छ । बरु संख्यामा कहिलेकाहीं तलमाथि परे परोस् तर जनताले हाम्रो बारेमा भन्ने कुरा के त ? हामीलाई जुन विश्वासले हेरिरहेको छ त्यो तल नझरोस् भन्ने कुुरामा म चाहिँ धेरै सजग छु । मेरो शक्ति भनेकै, मैले आर्जन गरेको कुरा भनेकै त्यही बिश्वास हो । त्यो घट्यो भने म कमजोर हुँदै जान्छु । मैंले त्यो मेन्टेन गरिरहेको छु । मेरो लागि मापन गर्ने कुरा त्यो हो । हामीले संगत गर्न नपाएपनि गणेशमानजी, किसुनजीहरूलाई देख्यौं नि त । उहाँहरू पावर पोलिटिक्समा भए पनि उहाँहरूको एउटा स्पेस रह्यो, आइडेन्टिटी रह्यो, त्यसले गर्दा एउटा खालको हामीहरूलाई लुक अप टु भन्ने खालको बनाएको थियो ।

 

त्यो बेला पावर पोलिटिक्स यति धेरै गिजोलिएको पनि थिएन ?
हे, थिएन । पोलिटिक्ससँग पैसा त जहिले पनि जोडिएको हुन्छ । तर पहिला अहिले जस्तो थिएन । यस्तै अवस्था रहिरह्यो भने पैसा भएको मान्छे मात्र पार्टीको मेजर पोजिसनमा पुग्ने अवस्था आउँछ । चुनाव पनि त्यस्तै भयो । महँगो हुँदै गयो । अब कांग्रेसको नेतृत्व यो सिस्टमलाई सुधार्नुपर्छ भन्नेतिर लागेन कि अब त्यो महँगो निर्वाचन लडन आफूले पनि पैसाका लागि नेटवर्क बढाउनुपर्छ भन्नेतिर लाग्यो ।

 

वडा, गाउँ जतातिरकाले पनि त्यस्तै सोच्ने भयो । पूरा कांग्रेसकै ओरियन्टेसन हेर्‍यो भने त्यतैतिर गएको देखिन्छ । पार्टीभित्र मलाई माया गर्ने होस् वा मेरो ईष्र्या गर्ने होस्, पार्टीभित्रको ठूलो तहले के अनुभव गरेका छन् भने उनीहरू पार्लियामेन्टमा छैनन्, म छु । पहिला हामी सबै सँगै थियौं । धेरै जना पार्टीभित्रका मान्छेलाई पार्लियामेन्टको फोरम पनि पार्टीभित्र आफ्ना समर्थक सिर्जना गर्नका लागि, पार्टीभित्र आफ्नो लिडरसिप डेभलप गर्नका लागि पार्लियामेन्टको फोरम पनि प्रयोग हुन सक्दो रैछ भन्ने कुरा केही मात्रामा अनुभव गराउन सकेको छु । नयाँ युवाहरूलाई आफू पनि पार्लियामेन्टमा पुगेर त्यहाँ आफ्नो प्रस्तुतिबाट लिडरसिप विकास गर्न सकिन्छ कि भन्ने भएको छ । यो बाई डिफल्ट भएको हो, पार्टीले हामीलाई तालिम दिएर, पोजिसन दिएर भएको होइन । धेरैजसो नेताहरू चुनाव हारे, भएका केही पनि पार्लियामेन्टप्रति खासै विश्वास नभएका परे ।

 

शेरबहादुरजीले बेलायतमै पढे पनि, जर्मनीमै पढे पनि, उहाँसँग पोलिटिकल नलेज होला, हाउ टु म्यानिपुलेट डडेल्धुरा भोट भन्ने होला, तर विकासको एजेन्डा त, उहाँले पनि उही पुरानै, विश्व बैंक कै एजेन्डा बोकेर हिँडिरहनुभएको छ । अलिकति रामशरण महत, नारायण खड्कालाई थाहा छ होला नि ? होइन ?
चुनाव कसरी जित्ने भन्ने र कसरी जनताको प्रतिनिधित्व गर्ने भन्ने कुरा फरक छ । हामीलाई चुनाव कसरी जित्ने भन्ने थाहा भयो । तर आफूले प्रतिनिधित्व गर्ने जनतालाई कसरी रिप्रिजेन्ट गर्ने भन्ने हामीले जानेनौं । ढल ल्याइदिन्छु, बाटो ल्याइदिन्छु आदि भनेको त खालि चुनाव जित्नका लागि मात्र हो ।

 

सांसदले दलित बस्तीमा झुपडी बनाइदिन्छन कि बनाइँदिदैनन भनेर हेर्छन् जनताले। सुकुम्वासी बस्तीमा छाप्रो बनाइ देलान कि भन्ने आशा राख्दछन । सांसद गगनबाट पनि त्यही आशा राखेका होलान जनताले । तपाई जन्मिएको जिल्लाका मान्छेले हाम्रो लागि गगनले केही न केही त गर्ला भनेर हेरेको हुन्छ । जनताको शब्दकोषमा सांसद महत्वपूर्ण ब्यक्ति हो । पार्टीमा त केही छैन केन्द्रीय सदस्य बाहेक । अहिलेको महाधिवेशनले यो प्रवृत्तिमा केही सुधार गर्न सक्ने स्थिति छ ?
महाधिवेशनमा कसको नेतृत्व ल्याउने ? हामीले प्रयास गरिरहेका र्छौं, सबैसँग छलफल, सल्लाह गरिरहेका छौं । जब म पाँच वर्षलाई निर्वाचित भएर आउँछु, मसँग कुनै न कुनै उपलब्धि हुनुपर्छ पुननिर्वाचित हुनका लागि । त्यसैले यो समयसँग जोडिएको हुन्छ । अब आउने महाधिवेशनदेखि जसले हाम्रो नेतृत्वगर्छ, सभापतिका हैसियतले, उसले नेपाली कांग्रेसलाई समयवध्द हिसावले लक्षको नक्सा बनाउनु पर्दछ । उसको लिडरसिपमा ४ वर्ष नेपाली कांग्रेसमा हुुने के के ? के के अचिभ गर्ने ? उसको मिसन के हो त ? केका लागि हो त ? ब्युरोक्र्याटिक हिसाबले त पार्टी त्यसै चल्छ नि । कांग्रेसका अर्को अधिवेशन हुने, नियमित काम हुने, त्यो त जो आए पनि चल्छ । तर केका लागि भन्ने कुरा चाहिँ राम्रोसँग परिभाषित हुनुपर्छ ।

 

नेपाली कांग्रेसका नेताहरू कांग्रेसलाई हामी पुरानो अवस्थामा पुर्‍याउँछौं भनिरहेका छन् । उनीहरूको बुझाइ नै गलत छ । किनभने कांग्रेसको इतिहासको कुनै पनि पुरानो अवस्थामा फर्किए पनि कांग्रेस पहिलो पार्टी बन्दैन । कांग्रेसलाई अहिलेसम्म नपुगेको ठाउँमा पुर्‍याउनुपर्नेछ । अहिलेसम्म कहिले पनि कांग्रेसलाई मत नहालेको मान्छेले कांग्रेसलाई मत हाल्नुपर्नेछ । अब त कांग्रेस आफ्नो पुरानो भोट ब्लकको बीचमा मात्रै रहेर पुग्दै पुग्दैन । त्यहाँ पुग्नका लागि कांग्रेसीलाई मात्रै अपील गर्ने लिडरसिप त अब हामीलाई कामै लाग्दैन।

 

निर्वाचन जित्नका लागि बाहिरको मासलाई अपिल गर्न सक्ने मान्छे चाहिन्छ । जसले कहिले पनि कांग्रेसलाई भोट हालेन र हाल्ने मनस्थिति बनाएको छैन त्यसलाई आफनो पक्षमा ल्याउन सक्ने लिडरसिप चाहिन्छ । अब नेपालमा कम्युनिस्ट पार्टीलाई रोक्ने भनेको त्यहाँबाट मात्रै हो । अब आउने निर्वाचनमा कम्युनिस्ट पार्टीलाई हराउन सक्यौं भने हामी सर्भाइभ गर्न सक्छौं । त्यसपछि मल्टी पार्टी डेमोक्रेसी पनि रहन्छ । अब आउने निर्वाचन पनि कम्युनिस्ट पार्टीले जित्यो भने नेपाल कम्बोडियाको हुनसेनले बनाएको बाटोमा जान्छ । चुनाव हुन्छ, पार्टी रहन्छ, तर हामीले सोचेको डेमोक्रेसी हुँदैन ।

 

अहिलेसम्मको परिदृश्यमा नयाँ भोट ब्लकहरू बनाउने कुरामा शेरबहादुरजीकै सभापतित्वमा केही काम भएको छ त ?
छैन ।

 

व्यक्तिगत लेबलमा केही भएको छ त ?
ब्यक्तिगत लेबलमा छ । नयाँ मतदाता, पहिलोचोटि भोट हाल्न लागेकाहरूका लागि, तिनवटा छनोट छन्–एउटा नेकपालाई हाल्ने, एउटा नेपाली कांग्रेसलाई हाल्ने र अर्को एउटा नयाँ पार्टीलाई हाल्ने । त्यसमा मधेसमा मधेसी पार्टी हुन सक्छन्, पहाडतिर अरू पार्टीहरू हुन सक्छन् । मैले अहिले तिनीहरूलाई राम्रोसँग रिप्रिजेन्ट गर्छु जस्तो पनि लाग्छ । उनीहरूले मलाई विश्वास गर्छन् । उनीहरूसँगको छलफल, सम्पर्कका क्रममा उनीहरूले मलाई व्यक्तिगत रूपमा ठीक भने पनि तेरो पार्टीलाई मान्दैनौं भन्छन् ।

 

किन भन्दा तिमीहरूको पार्टीमा तिमीहरू साइडमा छौ, तिमीहरू पार्टीको फेसै होइनौ, तिम्रो पार्टीको फेस तिमीहरूको हुने हो भने तिमीहरूलाई दिएको सपोर्ट तिमीहरूको पार्टीलाई दिन सक्छौं भन्छन् । पार्टी भनेको त शेरबहादुर देउवा हो, रामचन्द्र पौडेल हो भन्छन् । उनीहरूले उनीहरूकै बारेमा हाम्रो गुनासो सुनिरहेका हुन्छन् । शेरबहादुर देउवा राम्रो भनेको भए दुई जना भए पनि मान्छे आउँथे होला । यिनीहरू आजका लागि सान्दर्भिक पात्र होइनन् । यिनीहरूलाई रिप्लेस गर्नुपर्छ भनेको पनि सुनिरहेका छन् । गर्न नसकेको पनि देखिरहेका छन् । अनि हामीसँग किन आउँछन् रु माया गर्छन, सहानुभूति राख्छन । भोट दिँदैन ।

 

तपाई यसपालि महामन्त्रीमा उठ्दै हुनुहुन्छ । हुन त नेपाली कांग्रेसमा विधानमा जे लेखिए पनि सभापति बाहेक अरू कुनै पोजिसनको खासै महत्व देखिँदैन । आफू महामन्त्री भइसकेपछि अहिलेको पार्टीको एकतन्त्रीय शासनजस्तो सिनारियोलाई कसरी बदल्नु हुन्छ ?
मैंले केही वर्ष पार्टीको केन्द्रीय समितिको सदस्यका रुपमा काम गर्दा देखेको कुरा सुनाउँछु । अगाडिको लिगेसीको राम्रो कुरा केही सिकेको रहेनछ । गणेशमानजी किसुनजीको नेतृत्वमा जुनबेला प्रतिपक्षको राजनीति गरिएको थियो, त्यो बेलामा त्यो प्रक्रियाको महत्व कम हुन्थ्यो । त्यो बेलामा इमोसनले काम गथ्र्यो । एकैचोटि नयाँ युग सुरु भयो २०४६ सालपछाडि । मान्छे पुरानै आदतको बन्दी हुन्छ भनेजस्तै उहाँहरुले त्यसरी नै पार्टी चलाउनुभएको हो । उहाँहरूलाई सुहायो पनि ।

 

किनकि त्यसबाट आएको उहाँहरूको लार्जर द्यान लाइफ इमेज सबै कुरा थियो । त्यसपछिका नेताले उहाँहरुकोे जीवन मूल्य, जीवनशैली कुनै पनि कुरा लिएनन् । उहाँहरुकोे व्यवस्थापनको कमजोर पक्ष चाहिँ जस्ताको तस्तै लिए । चाहे शेरबहादुर हुन्, चाहे सुशील हुन् यो जेनेरेसनले । मैले विद्यार्थी नेताका रूपमा गिरिजाप्रसादसित पनि काम गरें । सुशील र शेरबहादुरसँग त केन्द्रीय समितिमै रहेर काम गरेँ । उहाँहरुमा व्यवस्थापकीय कौशल चाहिँ शून्य नै पाएँ । राजनीतिक दल भनेको त व्यवस्थापकीय कौशल पनि हो है भन्ने त हामीले भारतको मोदीलाई हेरेपनि थाहा हुन्छ । कांग्रेसभित्र देखिने धेरै समस्या त्यही व्यवस्थापकीय कौशल नहुनु नै हो । म त्यो पोजिसनमा हुने हो भने पार्टीलाई त्यो प्रसेससँग बाँध्ने कुरागर्छु । पार्टी भनेको एउटा ठूलो अभियान समूह पनि हो ।

 

नेकपा एमाले पार्टी किन बाँचेको हो भने, बीचमा माधव नेपालको नेतृत्व हुँदा त्यसको आन्दोलनको धार पनि गुमेको थियो । किनभने माओवादी आएको थियो । नेकपा एमालेलाई कसैले विश्वास गर्ने अवस्था थिएन । तर एमालेले ती दसौं लाख मान्छे परिचालित गर्यो । यो एमालेको अर्को पार्ट पनि हो । उसले त्यो पार्टी कम्पनी चलाए जस्तो चलायो । उसबाट सिक्ने कुरा के छ भने जुन उसले एउटा प्रसेसबाट पार्टी चलायो । माओवादी त्यस्तो बलियो भएर आउँदा पनि एमालेले आफ्नो २०र२५ पर्सेन्ट भोट गुमाएन । त्यो बेलामा त ऊ राजनीतिक क्राइसिसमा पर्नुपर्ने हो नि ।

 

२०६४-६५ मा माओवादी राजनीतिको मूलधारमा आइसकेपछि प्रचण्डको नृेतृत्वमा भएको माओवादी चुनाव लड्दै गर्दा एमाले त सिनित्त हुनुपर्ने हो नि । त्यति बेला एमालेलाई ड्यु प्रसेसबाट पार्टी चल्दै गर्दा बनाएको नेटवर्कले बचायो । मैले एमालेजस्तो पार्टीको कल्पना गरेको होइन । त्यस्तो पार्टी भनेको धन्धा गर्ने पार्टी जस्तो हुन्छ । पार्टी ओपन हुनुपर्छ । नेकपा क्लोज पार्टी हो । नेकपा हुनका लागि आइडोलजी कम्युनिस्टै हुनुपर्छ । नेपाली कांग्रेस पार्टी ओपन भन्नका लागि कांग्रेस सिंगल मेम्बरसिप भएको पार्टी हुनुपर्छ ।

 

कांग्रेसको मेम्बर भनेको कांग्रेस भनेपछि सकियो । कांग्रेसको सभापति को हुने भन्ने कुरा हुन सक्छ । पार्टीमा दस वर्ष काम गरेको मान्छे हुनुपर्छ भने सकियो । एक चोटि सांसद भएको हुनुपर्छ भन्न सकिएला, जे जे मापदण्ड राख्न सकिएला । जस्तो बेलायतमा कम्तीमा १० जना सांसदले समर्थन गर्नुपर्छ । तर कांग्रेसका २० लाख मेम्बर छन् भने ती सबैले कांग्रेसको पार्टी सभापतिलाई भोट हाल्न पाउनुपर्छ । यो फम्र्याटमा लैजान सकियो भने कांग्रेस एज पार्टी एज अ अर्गनाइजेसन चल्नुपर्ने अवस्थामा लैजान्छ ।

 

नेकपा र नेपाली कांग्रेसको संगठनात्मक शक्तिको कुरा गर्दा नेपाली कांग्रेसको हात माथि परेको थियो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गिरिजाप्रसादले जुन प्रक्रिया अपनाए, बाँकी कांग्रेसले त्यो प्रक्रियालाई नेपाली कांग्रेसको ओनरसिपलाई अहिलेसम्म मानेको देखिएको छैन । हामीले माने पनि नमाने पनि गिरिजाप्रसाद के कुरामा सहमत भए भने देशलाई राजनीतिक र सामाजिक रुपान्तरण चाहिएको छ ।

 

सबभन्दा पहिला राजा फाल्नुपर्छ भनेर नारा लगाउने नरहरि आचार्य र तपाईलाई अप्रिय आक्षेप लगाउने गिरिजाप्रसादले गणतन्त्र ल्याए । त्यसलाई त मान्नुपर्‍यो । त्यसलाई ओन गर्ने हाइरार्की नै भएन नेपाली कांग्रेसमा । नत्रभने कम्युनिस्टले यति धेरै डोमिनेट गर्दैनथ्यो होला कांग्रेसलाई । तपाईलाई के लाग्छ ट्रान्सफर्मेसनको इस्युमा हामीले काम गर्न पुगेन कि ?
पुग्दै पुगेन । पार्टीमा प्रसेस केही पनि रहेनछ । लिडरसिप आन्दोलनबाट स्थापित हुँदै गर्दा प्रसेस नभए पनि उसले रिजर्भ गर्छ । गिरिजाबाबुले भनेका सबै कुरा पार्टीका कुरा भए । धर्मनिरपेक्षता, संघीयता लगायतका जति पनि विषयहरू छन्, यी तमाम विषयमा पार्टीमा कुनै पनि बेला छलफलै भएन । तर पार्टी ती विषयमा अगाडि त बढ्यो । एकपछि अर्को स्टेपमा त बढ्दै गयो ।

 

नेपालमा एउटा तत्व छ जसले देशको परिवर्तनलाई रोकिराखेको छ । नेपाल सानो र गरीब देश भएको हुनाले त्यो बेलाबेलामा सक्रिय हुन्छ । यसका स्रोतहरू थोरै छन् । ती स्रोतहरूको भोग गर्ने पनि थोरै छन् । ती स्रोतको भोग गर्ने काठमाडौं उपत्यकामा २०-२२ परिवार होलान् । तिनीहरूले नै नेपालको राजनीति हाँक्छन् भन्ने एउटा प्रबल दृष्टिकोण पनि छ । जस्तो राजाको परिवार खत्तम भयो । ज्ञानेन्द्र राजा भए । त्यसपछि गणतन्त्र आयो । यी सबै कुरामा ती परिवारको सहमति चाहियो ।

 

वास्तवमा भन्ने हो भने ज्ञानेन्द्रले राज्य छोड्दाखेरि अघिरपछि भएको भए त्यति सजिलै छोड्दैनथे होलान । उनले आन्दोलनको दवावले मात्र गद्दी छाडेका होइनन । त्यतिबेला यो वर्ग ज्ञानेन्द्रको पक्षमा रहेन । अहिले फेरि ती मान्छेहरूले पावरसँग बार्गेनिङ गरिरहेका छन् । जस्तो हामीले सुनिरहेका छौं, ओलीले नेपाल ट्रस्टको सबै सम्पत्तिहरू आफन्तहरूलाई दिए अथवा शेरबहादुरको पालामा पनि त्यो काम भयो । यी कुरा अहिले सत्य साबित भइरहेका छन् । देशको रिसोर्सेसमाथिको नियन्त्रण एउटा सानो वर्गको हातमा छ । नेपालमा एउटा नयाँ वर्गको सिर्जना हुँदैछ । के टिप्पणी गर्नुहुन्छ ?
तपाईको यो बिश्लेषण एकदम सही हो । ज्ञानेन्द्र फ्याँकिने बेलाको सन्दर्भमा त्यो समूहभित्र ठूलो बिरोधाभाश थियो । त्यसैले राजा फ्याँक्ने कुरामा उसले साथ दियो । त्यसमा दुइटा कारण थियो होला । एउटा वीरेन्द्रको वंशनाशसँगै पारम्परिक दरबारिया शक्ति मिलेर बनेको त्यो वर्गले आफू त्यहाँबाट अलग भएको महसुस गरे । अर्को राजाको आफ्नो व्यापारिक समूहले पनि ऊसँग मिलेर काम गर्नुपर्ने ठाउँमा उसैसँग प्रतिस्पर्धा गर्नुपरेपछि त राजालाई साइडलाइन गर्ने कुरामा उनीहरू सबैको साथ रहेको होला । यो बिरोधाभाशलाई थेगेर जान सकेन भने व्यवस्था अप्ठ्यारोमा पर्ने रहेछ । यसलाई क्रस गरेर जान सकिदैन । एकै पटक क्रस गर्न खोज्यो भने ठूलो दुर्घटना पर्न सक्छ । त्यसलाई जनताको हितमा एक ठाउँमा आउन नदिएर ब्यबस्थापन गर्नुपर्छ । त्यसलाई मार्न सकिन्न । तर त्यसलाई एक ठाउँमा आउन नदिन सकिन्छ।

 

मैले देखेको वुध्दिमान राजनीतिज्ञले त्यो वर्गको अस्तित्व स्वीकार गर्नुपर्यो । त्यसलाई आफ्नो पक्षमा आउन दियो भने त्यसले आफैलाई सक्काइदिन्छ । अहिले त्यसलाई मसँग आउन दिन्नँ भन्यो तर सँगसँगै कोलुड गरेर, समूह बनेर, अर्कोसँग लागिरहेको छ भन्ने कुरा देख्न बुझ्न सकेनौं भने त्यसले आफैलाई खाइदिन्छ । कि त त्यसलाई झ्याप्पै अंकमाल गरेर आफ्नै पार्ट बनाउनु पर्यो । त्यसोगर्दा जनताको लागि केही पनि गर्न सकिँदैन । अहिले केपी ओलीको असफलताको ठूलो र मुख्य पाटो त्यो हो नि । धेरैजसोले यसलाई मिस गर्छ । नेपालका राजनीतिज्ञहरु राजनीतिमा विदेशी शक्तिको प्रभावलाई त देख्छ तर नेपालभित्रैको यो “शक्तिशाली” शक्तिलाई देख्दैन ।

 

विदेशी शक्ति हुँदैन । चीनले, भारतले नेपाललाई केही असर गर्न खोज्यो भने डाइरेक्ट गर्छ नि ?
इन्डाइरेक्ट गर्ने भनेको यस्तै शक्ति मार्फत त हो । अहिले भारतले केपी ओलीलाई राम्रो दुःख दिनुपर्‍यो भने दुःख दिनका लागि उसले हामीबाट त के नै गर्न सक्छ र रु हामीले त प्रसेस फलो गर्नुपर्‍यो, पार्लियामेन्ट कुर्नुपर्‍यो । सडकमा आउनुपर्‍यो, मान्छे ल्याउन सक्नुपर्‍यो । सत्ता चलाउने मान्छेले यस कुरालाई बुझ्न सक्नुपर्छ । हो, मैंले देखेको सबैभन्दा कठिन कुरा त भूमिगत गिरोहको रुपमा रहेको व्यापारिक स्वार्थ नै हो । २०-२२ घराना छन् । तिनैले कक्र्याक्क समातेको छ । जयस्थिति मल्लको पालादेखि नै समातेको छ ।

 

मैंले आजको दिनमा प्रधानमन्त्रीलाई सजेस्ट गर्न पाउने हो भने नेपालमा नयाँ उदाएका व्यापारीहरू हामीले देखिराखेका छैनौं । जस्तो टुरिजमको क्षेत्रमा यति नयाँ आन्त्रप्रेनर्जहरू आएका छन्, प्रधानमन्त्रीले आङ छिरिङको प्रेसरलाई म थेग्छु र म अरू दर्जनौं मान्छेलाई आङ छिरिङ बन्न सक्ने फेयर प्लेइङ ग्राउन्ड दिन्छु भनेर जाने हो भने तिनीहरूले आङ छिरिङलाई तह लगाउँछन् । पहिला जस्तो छैन । १९९९ पछिको ग्लोबल चेन्जले परिवर्तन ल्याएको छ ।

 

परिस्थितिलाई सदुपयोग गरेर आएका जोशिला मानिस पनि छन् नि । हाम्रो पावरले यिनीहरूलाई हाम्रो पक्षमा काम गर्छ भन्ने विश्वास दिलाउन सक्यो भने यिनीहरूले जोगाउँछन् । अहिले मिडिया पनि पहिलाजस्तो छैन, एउटारदुइटा मात्र होइन, थुप्रै छन् । यिनीहरूको एक्सेस हजारौं मिडियामा छन् । एकप्रकारले त्यो कमन मान्छे हुन्छ । म भए १८-२० जनाको बिजनेस नेक्ससको समस्या समाधान गर्दिनँ, म सामान्य नागरिकको इन्ट्रेस्टलाई सल्भ गर्छु ।

 

अहिले कोरोनाको यत्रो महामारी छ, तपाईंले स्वास्थ्य मन्त्रालयको अभिभारा पनि बडो दक्षताका साथ सम्हाल्नुभयो । के छ स्वास्थ्य मन्त्रालयको अवस्था रु हामी कोरोना ह्यान्डिल गर्न सक्ने अवस्थामा छैनौं ?
छैनौं । कोरोनाविरुद्धको लडाइँमा राजनीतिक नेतृत्व प्रधानमन्त्रीको हुन्छ । प्राविधिक नेतृत्व स्वास्थ्य मन्त्रालयले गर्ने हो । कोरोना बिरुध्दको अभियानमा प्रधानमन्त्रीको राजनीतिक नेतृत्व छैन, स्वास्थ्य मन्त्रालयको प्राविधिक नेतृत्व छैन । प्रधानमन्त्रीले प्राविधिक नेतृत्व लिएकाछन छ । म अहिले स्वास्थ्यमन्त्री थिएँ भने कि छोडिसक्थें कि प्रधानमन्त्रीले स्वास्थ्यसँग जोडिएका कुराहरूको निर्णय चाहिँ मेरो सुझावको आधारमा हुनुपर्छ भन्ने कुरामा प्रधानमन्त्री वा सरकारलाई कन्भिन्स गराएको हुन्थेँ ।

 

अहिले त महामारी बिरुध्द कहिले त्यो सेनाले काम गर्छ, कहिले त्यो ईश्वर पोखरेलले गर्छ । प्राविधिक नेतृत्व नै छैन । त्यसले गर्दा राइट टाइममा राइट काम नै भएन । मेरो विचारमा अब ५र६ दिनभित्रमा काठमाडौंमा बिरामीको चापलाई हाम्रा अस्पतालहरूले थेग्न सक्दैनन् । अब त अस्पतालमा ठाउँ नै हुँदैन । अहिले त पैसा तिर्नसक्ने निजी अस्पतालमा जान सक्छन । हामीसँग किस्ट, एनएमसी लगायतका मेडिकल कलेज अहिले बन्द जस्तो अवस्थामा छन् । ती मेडिकल कलेजसंग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेमा मजाले प्रयोगमा ल्याउन सकिन्छ ।

 

कोरोना महामारीकै प्रसंगमा स्वास्थ्य क्षेत्रमा भ्रष्टाचारको कुरा जति सुनिएको छ नि कामै नलाग्ने आरडीटीहरू ल्यायो भन्ने छ, एकदमै कमसल सामान किन्यो भन्ने छ, १० रूपैयाँ पर्ने मास्कलाई दुई अढाई सय तिर्‍यो भन्ने छ । गएको संसद् अधिवेशनमा पनि जनताको ज्यान खतरामा परेको बेला सांसदहरू उद्वेलित हुन सकेनन् । महामारीतिर पार्टीहरूको ध्यान नपुगेको हो ?
हो । मैले व्यक्तिगत रूपमा त्यो फाइट पिक गरेँ । त्यो फाइटले त्यसले पार्लियामेन्ट नै जुरुक्क उचालिनुपर्‍थ्यो । अस्तिको पार्लियामेन्टमा त कोभिडभन्दा अरू विषय नै नहुनुपर्ने हो । यतिखेर कहाँ ढल कहाँ पानीभन्दा बजेट पनि कोभिड वरिपरि घुम्नुपर्ने हो ।

 

तपाईंले संसद्मा प्रधानमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्रीले ‘मैले भनेपछि मान्नुहोस’ भने नि त्यसबेला तपाईले कस्तो अनुभव गर्नुभयो ?
मैले एकदमै अपमानित अनुभव गरें । मलाई रिस उठ्यो । म उठेर बोलेर रियाक्ट गरें । मैले हात जोडेर ‘त्यही त तपाईंलाई सबै थाहा छ होइन ?’ भनेर यस्तै के के भनेर बर्बराएँ । तर यसो पार्लियामेन्टलाई हेर्दा त हाम्रोतिरका मान्छे हाँसिरहेका, उतातिरका मान्छे टेबुल ठोकिरहेका छन्, रिसाउने त म मात्रै भएँ ।

 

प्रधानमन्त्रीको संवेदना त मरेको होइन ?
प्रधानन्त्रीमा मैले मानवीय अनुहारै देख्दिनँ । उनको आफ्नो व्यक्तिगत राजनीतिक कुरा त होला, तर न्यूनतम मानवीयता हुनुपर्छ नि । यसो हेर्दा त उनको राजनीति जनतासँग नै नजोडिएको जस्तो । मैले बुझेको राजनीति त जनतासँग मिसिएर हुने कुरा हो । आफू पावरमा आउनका लागि हुने राजनीतिक घात प्रतिघात पनि जनतासँग जोडिएरै हुन्छ नि । यो त अर्कै टापु जस्तो अलग भयो । कस्तो नछोएको त ! यहाँ त हजारौं मान्छे बेरोजगार भइसके, तिनीहरू कसरी बाँचेका होलान् ? तिनीहरूलाई हाम्रो देशको बजेटले चिन्दैन । हाम्रा पार्टीहरूका मिटिङ हुन्छन्, जुम मिटिङ भन्छन् । कहीँ पनि यिनीहरूका बारेमा कुरा भएको छैन । यस्तो पनि राजनीति हुन्छ ?

 

अहिलेको युवाका एजेन्डा गगन थापा जस्ता युवाले अगाडि बढाउँछन भन्ने बिश्वास छ मान्छेमा । त्यो विश्वास मैले कांग्रेसीमा मात्रै होइन, माओवादी र अरू खालका कम्युनिस्टमा पनि पाएको छु । जुन सेट माइन्डेड छन् उनीहरूमा मात्रै छैन । यो एजेन्डा अगाडि बढाउनुपर्छ भन्नेमा के लाग्छ ?
जस्तो ४६ सालभन्दा अगाडिका नेतालाई पञ्चायतसँग लडेको कुरामा ठूलो गौरव हुन्छ नि, मेरो फाउन्डेसन भनेकै ६० साल वरिपरि बनेको राजनीतिक चेतना हो । हामीहरू लिबरल डेमोक्रेसीको युनिभर्सल भ्यालुजहरूसँग जोडिएका छौं । हाम्रो समाजमा डेमोक्रेसीका पनि लिमिटेसनहरू रहेछन् भन्ने हेरियो । समाजको डाइभर्सिटी, यहाँका जातका, धर्मका, भाषाका कुरा, हाम्रो आफ्नो विविधताका कुरा, महिला, दलितका कुरा यी यावत् हाम्रा विषय रहेछन् ।

 

६२-६३ को आन्दोलन नभएको भए हाम्रो सेट माइन्डले त्यो थाहा नै पाउँदैनथ्यो कि रु कांग्रेसको स्कुलबाट आएकाले सबै कुरा प्रजातन्त्रले दिन्छ भन्ने हुन्थ्यो । त्यसैले पछिल्लो परिवर्तनलाई मैले आफनो मुटुमा अंकित गरेकोछु । मेरो आइडेन्टिटी भनेकै त्यही पोलिटिकल चेन्जसँग जोडिएको छ । त्यसैले म त यो संविधान, यो व्यवस्थालाई टिकाइराख्न चाहन्छु । यसभित्र लेखिएका कुराहरू व्यवहारमा लागू होस्, जनताले यसलाई मानुन् भनेर लागेको छु ।

 

अब कांग्रेसमा कस्तो सभापति चाहिन्छ ?
मलाई लाग्छ, अहिलेसम्म नेपाली कांग्रेसलाई कहिले पनि मत नहालेको मतदातालाई अब आउने चुनावमा नेपाली कांग्रेसलाई मत हाल्न लगाउन सक्ने, आशाको संचार गराउनसक्ने नेता चाहिएकोछ । कांग्रेसले हिजो के गरेको थियो भन्ने कुराले नयाँ मतदातालाई अपिल गर्दैन । कांग्रेसमा आशा जगाउनसक्ने ब्यक्तिलाई हामीले सभापति बनाउनुपर्छ । हामीले नेताहरूका अन्तर्वार्ता, भाषण सुनिरहेका छौं, सबैको बीचबाट एउटा योग्यलाई तान्ने कोशिश गरिरहेका छौं । हामीलाई कसैले उत्साहित गर्न सकेन भने हामीले कसरी तलकालाई उत्साहित गर्ने रु नेताहरुले नेपाली कांग्रेस इज लिमिटेड टु कांग्रेस मेम्बर भन्ने ठान्नुभएको छ, त्यो होइन ।

 

कांग्रेसको मेम्बर त जोसुकै आएपनि भो । शेरबहादुर आएपनि, रामचन्द्र आएपनि, शशांक आएपनि भो । मै आएपनि । जो आएपनि । कांग्रेसी इज कांग्रेसी । कम्युनिस्टले यस्तो दुःख दिएको बेलामा जो आए पनि कांग्रेसी हो । तर यस्तो इलेक्टोरल पोलिटिक्स जित्नलाई नेताले नन कांग्रेसीलाई अपिल गर्नुपर्छ । नन कांग्रेसीलाई अपिल गर्नलाई एजेन्डा चाहिन्छ । विश्वास आर्जनगर्न सक्नुपर्छ । त्योचाहिँ हामीले देखेका छैनौं । हामीलाई विश्वास छ यो आवश्यकतालाई महसुस गरेर आफूलाई कसैले प्रस्तुत गर्नुहोला भन्ने अपेक्षा चाहिँ छ ।

 

(रुपान्तरणका लागी पत्रकार किशोर नेपालले गगन थापासँग गर्नुभएको छलफल)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार